काठमाडौँ । टिकटकले आफ्नो प्लेटफर्ममा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत् सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पु¥याउने उद्देश्यले नयाँ अभियान घोषणा गरेको छ ।
प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने तरिकामा ल्याइरहेको परिवर्तनलाई मध्यनजर गर्दै नयाँ शैक्षिक कन्टेन्ट, थप प्रभावकारी स्पाम डिटेक्सन सिस्टम तथा इन्डस्ट्री पार्टनरहरूसँगको सहकार्यलाई विस्तार गरेको कम्पनीको भनाइ छ ।
एआईले सिर्जनशीलता र अभिव्यक्तिका नयाँ अवसरहरू खोल्दै गएको अवस्थामा टिकटकले प्रयोगकर्तालाई एआईमा आधारित अनुभवहरू सुरक्षित र आत्मविश्वासका साथ प्रयोग गर्न, मौलिक कन्टेन्टलाई प्रवर्धन गर्न तथा क्रियटरमाथिको विश्वास कायम राख्न आवश्यक टुल्स, पार्टनरसिपहरू र सुरक्षा उपायहरूमा निरन्तर लगानी गरिरहेको कम्पनीको भनाई छ ।
आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा यो हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ । यसले एआई–जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने सम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
टिकटकको ग्लोबल पब्लिक पोलिसी टीमका एआई प्रमुख टम वर्गिसले भने, “हामी टिकटकमा एआई प्रयोग गर्दा प्रयोगकर्ताले आवश्यक सन्दर्भ, आत्मविश्वास र नियन्त्रणको अनुभव गर्न सकून् भन्ने चाहन्छौँ । एआईद्वारा सिर्जना गरिएका कन्टेन्ट पहिचान गर्न, ती कसरी तयार हुन्छन् भन्ने बुझ्न तथा एआई टुललाई सिर्जनात्मक र जिम्मेवार ढङ्गले प्रयोग गर्न सहयोग गर्ने प्रविधि, साझेदारी र शैक्षिक कन्टेन्टमा हामी निरन्तर लगानी गरिरहेका छौँ ।”
टिकटकले एआई साक्षरता प्रवर्धन गर्ने विश्वसनीय संस्थाहरूसँगको सहकार्यलाई पनि निरन्तर विस्तार गरिरहेको छ । टिकटकले यस प्रोग्रामका लागि हालसम्म ४० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ र आगामी दिनमा विश्वभरका अझ धेरै समुदायसम्म यसको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्