वालेट खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मोबाइल वालेट खाता खोल्नको लागि राष्ट्रिय परिचयपत्र चाहिने भएकाे छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन र थप गर्दै भुक्तानी सेवा प्रदायक संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख अनुसार राष्ट्रिय परिचयपत्रको विवरण यकीन गरेर वालेट खोल्ने व्यवस्था मिलाउनुपर्ने जनाएको छ ।

अनुमतिपत्रप्राप्त संस्थाले २०८३ असोजमसान्त भित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए नभएको स्वःघोषणा लिनुपर्ने उल्लेख गरेको छ ।

यस्तै, राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने जनाएको छ ।

राष्ट्रिय परिचयपत्र नलिएका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिएर ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत् विद्युतीय वालेट खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत बालेट खोल्न सक्नेछन्। यसरी खोलिने वालेटका सम्बन्धमा वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित अनुमतिपत्रप्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिएर अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ ।

आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बालेट खोल्न र कारोबार गर्न सक्नेछन्।