थुनामा पठाउने आदेश खारेजीकाे माग गर्दै व्यवसायी दीपक भट्ट पुगे सर्वोच्चमा


काठमाडौँ । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै भट्टले आज सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् ।

उच्च अदालत पाटन र विशेष अदालतले थुना पठाउन दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका भट्टले दुवै अदालतका आदेश खारेज गर्न माग गरेका छन् ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो दाबी गरिएका भट्टलाई मुद्दामा उच्च अदालत पाटनले असार ५ गते भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गर्दै दायर भएको मुद्दामा विशेष अदालतले असार ३ गते भट्टलाई थुनामा पठाउने आदेश दिएको थियो ।

विभिन्न कम्पनीको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा भट्टसहित विभिन्न व्यक्तिलाई मुद्दा दायर गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी भट्टलाई २०८२ चैत १९ गते पक्राउ गरेको थियो ।