निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता


काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका छन् । 

मंगलबार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा उनले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनःस्थापित गर्नुपर्ने बताएका हुन् ।

उनले निजी क्षेत्रले गरेको लगानी सुरक्षित, प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो कुरामा भन्नेमा सरकार स्पष्ट रहेको भन्दै उद्यमीको नाफा र सम्पतीको सुरक्षा उच्च प्राथमिकतामा रहेको उनकाे भनाइ छ ।

उनले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरु तिब्र गतिमा कार्यान्वयन भइरहेको समेत बताए । पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तिब्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको उनले उल्लेख गरे ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रमा देखिएको लगानीको अवरोध हटाउने प्रतिवद्धता दोहो¥याउँदै लगानी, उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सिर्जनामार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्यमीहरुलाई आग्रह पनि गरे।