अन्तिम श्रद्धाञ्जलीका लागि गोपालमान श्रेष्ठको पार्थिव शरीर सानेपामा, आजै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको छ । श्रेष्ठको पार्थिव शरीरमा काँग्रेस सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् भने विभिन्न राजनितिक दलका नेता तथा काँग्रेस कार्यकर्ताहरुले पनि श्रद्धाञ्जली दिएका छन् ।

श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमालेका नेता प्रदीप ज्ञवाली लगायतका नेताले समेत श्रेष्ठलाई काँग्रेस पार्टी कार्यालय पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरे। ८३ वर्षको उमेरमा मंगलवार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएपछि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको हो । बुधवार नै उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने नेपाली काँग्रेसले जनाएको छ ।

नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले दिवंगत श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनका विशेष स्तम्भ भएको बताए । श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान इतिहासमा सदैव स्मरणीय रहने उनको भनाई छ । श्रेष्ठले सानै उमेरदेखि नेपाली काँग्रेसको नेतृत्वमा भएका सबै लोकतान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेको महामन्त्री घिमिरेले उल्लेख गरे ।

उनकाअनुसार २०१७ सालपछि उत्पन्न प्रतिकूल राजनीतिक परिस्थितिमा पार्टीले सञ्चालन गरेका हरेक संघर्षमा श्रेष्ठ निरन्तर सहभागी भई जेल, यातना र दमन सहेर पनि लोकतन्त्रको पक्षमा अडिग रहुनभएको थियो । १२ बुँदे समझदारीमा तत्कालीन सात दल र माओवादीबीच भएको ऐतिहासिक सहमतिका हस्ताक्षरकर्तामध्ये श्रेष्ठ पनि एक भएको महामन्त्री घिमिरेले बताए ।

उनका अनुसार श्रेष्ठले सरकारमा उपप्रधानमन्त्री, पार्टीमा उपसभापति तथा तत्कालीन नेपाली काँग्रेस ९प्रजातान्त्रिक० का कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थिए । श्रेष्ठ नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै महामन्त्री घिमिरेले पछिल्लो विशेष महाधिवेशनमा उनको उपस्थितिले पार्टीलाई ऊर्जा र मार्गदर्शन दिएको बताए ।