नेपालमा वयस्क बाघको संख्या ४२९ पुग्याे


काठमाडौँ । नेपालमा बाघको संख्यामा तिव्र वृद्धि भइरहेको छ । पछिल्लो राष्ट्रिय बाघ गणना २०८२ का अनुसार देशभरका संरक्षित क्षेत्र तथा तिनीहरूसँग जोडिएका वन क्षेत्रहरूमा गरी कुल ४२९ वटा वयस्क बाघ फेला परेका छन्।

​बाघको मुख्य बासस्थान मानिएका देशका पाँचवटा राष्ट्रिय निकुञ्ज र तिनीहरूका आसपासका वन क्षेत्रहरूमा गरिएको विस्तृत अध्ययन तथा गणना पछि यो नतिजा निकालिएको हो। जस अनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्ज र त्यससँग जोडिएको वन क्षेत्रमा पाइएका छन्, जहाँ कुल १४५ वटा वयस्क बाघ सूचीकृत भएका छन्।

​चितवनपछि बर्दिया राष्ट्रिय निकुञ्ज र त्यस आसपासको क्षेत्रमा बाघको संख्या रहेको देखिएको छ। बर्दिया क्षेत्रमा ११२ वटा वयस्क बाघ गणना गरिएका छन्। यसैगरी पर्सा राष्ट्रिय निकुञ्ज र त्यससँग जोडिएको वन क्षेत्रमा ७१ वटा बाघ भेटिएका बाघको संख्या सार्वजनिक कार्यक्रममा जानकारी दिइएको छ।

​पश्चिम नेपालका अन्य दुई प्रमुख बासस्थानहरू बाँके र शुक्लाफाँटामा पनि बाघको संख्या उल्लेख्य रहेको छ। बाँके राष्ट्रिय निकुञ्ज र त्यसको संलग्न वन क्षेत्रमा ५१ वटा बाघ पाइएका छन् भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा त्यस वरपरको वन क्षेत्रमा ५० वटा वयस्क बाघ दर्ता भएका छन्।