काठमाडौँ। सुनसरीको देवानगञ्जमा साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन कोसी प्रदेश सरकारले सर्वदलीय बैठकमार्फत आठबुँदे निर्णय गरेको छ।
बैठकले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको परिवारलाई २ लाख रुपैयाँ तथा आगजनीबाट प्रभावित परिवार र घाइतेलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले साम्प्रदायिक सद्भाव र सामाजिक एकता कायम राख्न पालिका तहमा सर्वदलीय बैठक, सद्भाव यात्रा र सार्वजनिक अपिलजस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
यस्तै, सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाउने, घाइतेको उपचार र पीडितलाई राहतका लागि संघीय सरकारसँग सहयोग माग्ने तथा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए।
मुख्यमन्त्री कार्कीले सबै पक्षलाई सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्