एसोसिएसनद्वारा खिर प्रवर्द्धन कार्यक्रम सम्पन्न, नौ प्रकारका खिर चखाइयो


काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा राष्ट्रिय खिर दिवसको अवसर पारेर बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित मौलिक भान्छाघरमा खिर प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।

हरेक वर्ष साउन १५ मा मनाइने राष्ट्रिय खिर दिवसलाई लक्षित गर्दै आयोजित कार्यक्रममा सहभागीलाई नौ प्रकारका खिर चखाउने व्यवस्था गरिएको थियो। काठमाडौँ इङ्लिस स्कुलका बालबालिकालाई खिर खुवाएर कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले नेपालको मौलिक खानाको संरक्षण, दुग्धजन्य पदार्थको उपभोग वृद्धि तथा किसान र डेरी उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले खिर प्रवर्द्धन अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार यस वर्ष साउन १५ मा देशभर करिब १ करोड लिटर दूध खपत हुने अनुमान गरिएको छ। उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

उनले राष्ट्रिय खिर दिवसले दूध उत्पादक किसानको सम्मान, डेरी उद्योगको सुदृढीकरण तथा स्थानीय कृषि उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीले यस्ता कार्यक्रमले नेपाली मौलिक खानाको प्रवर्द्धनसँगै दुग्ध क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने बताए। मन्त्रालयले कृषि क्षेत्रको विकास र आवश्यक सहकार्यका लागि निरन्तर काम गरिरहेको पनि उनले उल्लेख गरे।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठले डेरी एसोसिएसनका गतिविधिमा महासङ्घको निरन्तर साथ रहने बताए। घरेलु तथा साना उद्योग महासङ्घकी अध्यक्ष शोभा गुरुङले एसोसिएसनले सञ्चालन गरेको मही अभियानको प्रशंसा गर्दै उत्पादनको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरिन्।

निर्यात व्यवसायी महासङ्घका अध्यक्ष गोविन्द घिमिरेले छुर्पी, घिउलगायत नेपाली दुग्धजन्य उत्पादनको निर्यात प्रवर्द्धनमा महासङ्घले आवश्यक भूमिका खेल्ने बताए।

कार्यक्रमका विशेष अतिथि दुग्ध किसान रामप्रसाद घिमिरेले किसानलाई सम्मान गर्दै प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएकोमा खुसी व्यक्त गर्दै यसलाई सम्पूर्ण किसानप्रतिको सम्मानको रूपमा लिनुपर्ने बताए।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), नेपाल उद्योग वाणिज्य महासङ्घ, साना तथा घरेलु उद्योग महासङ्घ, निर्यात व्यवसायी महासङ्घ तथा डेरी एसोसिएसनका पदाधिकारी र विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी, पत्रकार एवं सरोकारवालाको सहभागिता रहेको थियो। सो अवसरमा घरेलु तथा साना उद्योग महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सम्मान पनि गरिएको थियो।

एसोसिएसनका अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गतेको निर्णयअनुसार हरेक वर्ष साउन १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाइँदै आएको छ।

यस वर्ष ‘खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान” भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ। प्रदेश तथा जिल्ला समितिहरूले पनि आ–आफ्नो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन्।

दूध, चामल, चिनी वा गुड, घिउ तथा सुक्खा फलफूलबाट तयार हुने खिर नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा पारिवारिक जीवनसँग गहिरो रूपमा जोडिएको परिकार हो।

पोषणका दृष्टिले पनि खिरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्त्व प्रदान गर्ने भएकाले यसको महत्व उच्च रहेको एसोसिएसनले जनाएको छ।