मध्यमदेखि भारी वर्षाकाे सम्भावना


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको महाशाखाको भनाई छ ।

यसको प्रभावले बिहीबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात, पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।