बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ?


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी युवकको मृत्यु भएको घटनालाई लिएर सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाएकी छिन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक थापाले प्रहरीको गोली लागि स्थानीय एक युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन् । उनले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र घटनाको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गरिन् ।

उनले तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विगतमा प्रधानमन्त्रीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको प्रसङ्ग उल्लेख गर्दै, आज नागरिकले ज्यान गुमाउँदा सरकारले देखाएको उदासीनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको टिप्पणी गरिन् ।

नेतृत्व भनेको केवल प्रशासन चलाउनु मात्र नभई संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नु पनि रहेको उल्लेख गर्दै उनले सरकार आफ्नो प्राथमिक दायित्वबाट विमुख हुन नमिल्ने बताइन् ।

थापाले साम्प्रदायिक विद्वेष फैलाउने कुनैपनि प्रयास नेपालको संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुने उल्लेख गरिन् । नेपाली समाजको मुख्य शक्ति नै सद्भाव र सहअस्तित्व रहेको चर्चा गर्दै उहाँले कसैको उक्साहट वा घृणाको राजनीतिबाट प्रभावित नभई सामाजिक एकता र भाइचारा कायम राख्न सम्पूर्णमा अपिल गरिन् । 

थापाले प्रधानमन्त्रीको संवेदनशीलतामाथि प्रश्न उठाउँदै भनिन्, “हिजो आक्रोश पोख्ने र सदनमा आँसु झार्ने प्रधानमन्त्री र गृहमन्त्री आज आफ्नै नागरिकको मृत्यु हुँदा किन मौन हुनुहुन्छ ? के पद र शक्तिले पीडाको वर्गीकरण गर्छ ? नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसको जवाफ सरकारले सदनमा दिनुपर्छ “

प्रमुख सचेतक थापाले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेकी छिन् ।