बाँदर व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा ‘मङ्की पार्क’ स्थापना गर्न सांसद पन्थीको माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गोविन्द पन्थीले प्रत्येक स्थानीय तहमा कम्तीमा ५०० वटा बाँदर व्यवस्थापन गर्न सक्ने क्षमता भएको ‘मङ्की पार्क’ स्थापनाको माग गरेका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बाँदर र बदेल नियन्त्रणका लागि सरकारको ध्याकर्षण गराउँदै प्रत्येक स्थानीय तहमा पाँच सय बाँदर व्यवस्थापन गर्न सकिने पार्कको प्रस्ताव गरेका हुन् ।

उनले भने, “गुल्मी जिल्लाको भ्रमणका क्रममा मैले जनतासँग प्रत्यक्ष भेटघाट गर्ने, उनीहरूका गुनासा सुन्ने र खेतबारीको वास्तविक अवस्था अवलोकन गर्ने अवसर पाएँ । पहिलो समस्यानै बादर बदेलको देखियो ।”

बन्यजन्तु नियन्त्रणमा दीर्घकालीन समाधानका लागि वन क्षेत्रमा वन्यजन्तुले उपयोग गर्ने फलफूल तथा आहाराका बोटबिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने र यसले वन्यजन्तुको प्राकृतिक बासस्थान र खाद्य स्रोत संरक्षणमा सहयोग पुर्‍याउने सांसद पन्थीको धारणा थियो ।

उनले भने, “तकाल राहतका लागि म नेपाल सरकारसमक्ष केही ठोस प्रस्ताव राख्न चाहन्छु । पहिलो, प्रत्येक स्थानीय तहमा कम्तीमा ५०० वटा बाँदर व्यवस्थापन गर्न सक्ने क्षमता भएको ‘मङ्की पार्क’ स्थापना गरियोस् । यसबाट किसानको खेती जोगिनुका साथै वन्यजन्तुको बाँच्न पाउने अधिकार सुनिश्चित हुनेछ र पर्यटन प्रवर्धनमा समेत नयाँ सम्भावना सिर्जना हुनेछ ।”

बँदेल नियन्त्रणका लागि प्रत्येक पालिकामा कम्तीमा दुईजना तालिमप्राप्त शिकारी परिचालन गर्नुपर्ने र उनीहरूलाई न्यूनतम तलबका साथै नियन्त्रण गरिएका बँदेलको सङ्ख्याका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने माग सांसद पन्थीको थियो ।

उनले जिल्ला वन कार्यालयमार्फत प्रत्येक पालिकाका लागि कम्तीमा ५० लाख रुपैयाँ बजेट तत्काल विनियोजन गरी प्रभावकारी नियन्त्रण अभियान सञ्चालन गर्न पनि माग गरेका छन् ।

उनले भने,“किसानलाई उत्पादन गर्न प्रेरित गर्ने हो भने पहिले उसको उत्पादन सुरक्षित गर्नुपर्छ । अतः किसान, वन्यजन्तु र प्रकृतिबिच सन्तुलन कायम गर्दै तत्काल प्रभावकारी कार्यक्रम लागू गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।”