नेपाली आइटी क्षेत्रको लगानी विदेशतर्फ,९ कम्पनीले ५ देशमा लगे पुँजी


काठमाडौँ । सरकारले सूचना प्रविधि (आइटी) कम्पनीहरूलाई विदेशमा लगानी गर्न सकिने व्यवस्था गरेपछि ९ ओटा सूचना प्रविधि कम्पनीहरूले विदेशमा लगानी लगेका छन् ।

विभिन्न ९ ओटा आइटी कम्पनीहरूले ५ ओटा देशमा अमेरिकी डलर, युरो र सिंगापुर डलरमा लगानी लगेकाे नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८१ पुस २६ गते मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरेपछि आइटी उद्योगलाई पहिलो पटक विदेशमा लगानी गर्न कानुनी आधार दिएको थियाे ।

त्यसपछि २०८१ चैत २४ गते अध्यादेशलाई प्रतिस्थापन गर्दै लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ राजपत्रमा प्रकाशित भएको थियो ।

आइटी कम्पनीहरूले विदेशमा शाखा खोल्न, लगानी गर्न तथा त्यहाँबाट आर्जित आम्दानी नेपाल भित्र्याउन सकिने व्यवस्था गरिएको छ । नेपालमा स्थापित सूचना प्रविधि उद्योग ले विदेशमा लगानी गर्न पाउने भएपछि आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न लागेका हुन् ।

नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ को पाचौँ संशोधनमा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम विदेशमा लगानी गर्न पाउने गरी छुट प्राप्त उद्योगले विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने जनाइएको छ ।

राष्ट्र बैंकले कम्पनीको चुक्ता पुँजी बराबर, पछिल्ला तीन आर्थिक वर्षमा आर्जन गरेको औसत विदेशी मुद्राको ५० प्रतिशत सम्म, अधिकतम १० लाख अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा आर्जन गरेको हुनुपर्ने जनाएको छ । तर अमेरिकी डलर २० हजार वा सो बराबरसम्मको लगानी गर्नको लागि यी व्यवस्थाले बाधा नपुर्याउने जनाइएको छ ।

सोही अनुसार आइटी कम्पनीहरूले ९ ओटा कम्पनीहरूले एक लाख ३६ हजार ३०० अमेरिकी डलर, २५ हजार युरो र ९९० सिंगापुर डलर लगानीका लागि लिएर गएका हुन् । संयुक्त राज्य अमेरिकामा ४ ओटा कम्पनीले ७१ हजार ३०० अमेरिकी डलर लगेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्समा एक कम्पनीले ३० हजार अमेरिकी डलर, भारतमा एक कम्पनीले १५ हजार अमेरिकी डलर बराबरकाे भारतीय मुद्रा लिएर गएका छन् । २ ओटा कम्पनीले सिंगापुरमा लगानी लिएर गएका छन् ।

एउटा कम्पनीले २० हजार डलर र अर्को कम्पनीले ९९० सिंगापुर डलर लिएर गएका छन् । एउटा कम्पनीले २५ हजार युरो नेदरल्याण्ड लगानी लिएर गएको छ ।

आइटी कम्पनीहरूले विदेशमा शाखा कार्यालय खोल्न, सहायक कम्पनी स्थापना गर्न, सम्बन्धित व्यवसायमा लगानी गर्न, सञ्चालनका लागि आवश्यक बैंक खाता खोल्न पाउने व्यवस्था छ ।