काठमाडौँ । नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम (क्यूआरटी)’ गठन गरेको छ।
उपभोक्ताको घरमा कुनै पनि हालतमा एलपी ग्यासको अभाव हुन नदिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनमा क्यूआरटी गठन गरिएको निगमले जनाएको छ ।
निगमकाअनुसार यो टिमले आजदेखि नै आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको छ।
ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाइएको छ। क्यूआरटीमा उद्योग मन्त्रालयका तर्फबाट मंगल विष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी, ग्यास उधोगबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।
टिमको मुख्य उद्देश्य देशका जुनसुकै स्थानमा एलपी ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु रहेको छ। निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ।
नेपाल आयल निगमका अनुसार पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढेपछि समस्या तत्काल सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको हो।
उपभोक्ताले ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त हुने गुनासोमाथि क्यूआरटीले तत्काल आवश्यक पहल गरी समाधान प्रक्रिया अगाडि बढाउने निगमले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्