बर्दियाका बाघको दुर्लभ व्यवहार विश्वमाझ


काठमाडौँ। जंगलमा बाघले देखाउने दुर्लभ तथा यसअघि अभिलेख नभएका व्यवहार क्यामेरामा कैद भएपछि नेपालको बाघ संरक्षणको सफलताले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छायांकन गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्ड: अ हिडन वर्ल्ड रिभेल्ड’ ले बाघको असाधारण व्यवहारसँगै समुदायमा आधारित संरक्षणको नेपाली अभ्यासलाई विश्व दर्शकमाझ पुर्‍याएको छ ।

वृत्तचित्रको विशेष प्रदर्शन टुरिजम इन्फो नेपालले बुधबार काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा आयोजना गरेको हो । प्रदर्शनमा पर्यटन, संरक्षण तथा सरकारी क्षेत्रका १०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

बीबीसी र पीबीएसको सहकार्यमा निर्माण भएको वृत्तचित्र बर्दिया राष्ट्रिय निकुञ्जको सीमावर्ती दुर्गम नदी टापु तथा सामुदायिक वन क्षेत्रमा छायांकन गरिएको हो ।

वृत्तचित्रमा गोमा, माला र जुगिनी नामका पोथी बाघको गतिविधिलाई पछ्याउँदै बाघको व्यवहारसम्बन्धी केही असाधारण दृश्य प्रस्तुत गरिएको छ । विशेषगरी पोथी बाघहरूले मिलेर बच्चाको हेरचाह गर्ने तथा भाले बाघले समेत बच्चाको संरक्षण र हेरचाहमा सक्रिय भूमिका निर्वाह गर्ने दृश्यले बाघको व्यवहारसम्बन्धी स्थापित बुझाइलाई चुनौती दिएको निर्माण टोलीको दाबी छ ।

सन् २०२२ को अन्त्यतिर यो डकुमेन्ट्री सुरु भएको थियो । बीबीसीको टोलीले बर्दियामा पोथी बाघको गतिविधि पछ्याउँदै लामो समयसम्म अध्ययन तथा छायांकन गरेपछि वृत्तचित्रले नयाँ तथ्य र दृश्यहरू समेट्न सफल भएको हो ।

ड्रोन, थर्मल क्यामेरा, नाइट-भिजन प्रविधि तथा विस्तृत फिल्ड ट्र्याकिङको प्रयोगबाट बाघका गतिविधि अभिलेख गरिएको थियो । वृत्तचित्रको दोस्रो भागमा बर्दिया राष्ट्रिय निकुञ्जभित्र रातको समयमा बाघले सिकार गरेको दुर्लभ दृश्यसमेत समेटिएको छ । कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशीले गरेका थिए ।

कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीधर पोखरेलको समेत उपस्थिति थियो । कार्यक्रममा जोशीले नेपालको बाघ संरक्षणको उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउन वृत्तचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले वन्यजन्तु संरक्षणलाई प्रकृतिमा आधारित तथा दिगो पर्यटनसँग जोडेर नेपाललाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सकिने धारणा राखे । वृत्तचित्र प्रदर्शनपछि सजल प्रधानको सहजीकरणमा प्यानल छलफल गरिएको थियो ।

छलफलमा बर्दियाका प्रकृति गाइड सुशीला महतरा र मञ्जु महतराले वृत्तचित्र निर्माणका क्रममा बाघको खोज, अनुगमन तथा ट्र्याकिङमा आफूहरूले गरेको काम र अनुभव साझा गरे । छलफलमा नेपालको बाघ संरक्षण यात्राले हासिल गरेको उल्लेखनीय प्रगतिबारे पनि चर्चा भएकाे थियाे ।

सन् २०१० मा १२१ रहेको नेपालको बाघ संख्या अहिले ४०० भन्दा माथि पुगेको तथ्य प्रस्तुत गर्दै सहभागीहरूले नेपाललाई विश्वमै बाघ संरक्षणको उल्लेखनीय सफलताको उदाहरणका रूपमा स्थापित गर्न सकिएको बताए । तर बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन नयाँ चुनौतीका रूपमा देखिएको सहभागीहरूको भनाइ थियो ।

संरक्षणका उपलब्धिलाई दीगो बनाउन संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको हित, सुरक्षा र सहभागितालाई समान प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिए । कार्यक्रममा वन्यजन्तु संरक्षण र पर्यटनबिचको सम्बन्धबारे समेत चर्चा गरिएको थियो ।

बर्दियामा बाघ तथा वन्यजन्तुमा आधारित पर्यटनको सम्भावना बढ्दै गएको अवस्थामा संरक्षणको सफलता नेपालका लागि अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधार बन्न सक्ने सहभागीहरूको धारणा थियो ।