काठमाडाैँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले वैदेशिक रोजगारमा जाने श्रमिकले अनिवार्य रुपमा निश्चित शुल्क तिर्नुपर्ने बताएका छन् ।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उनले वैदेशिक रोजगारमा जाने श्रमिकले कानुनअनुसार केही निश्चित शुल्क आफैंले तिर्नुपर्ने व्यवस्था रहेको बताएका हुन् ।
श्रमिक बीमा, स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा कोष (एसएसएफ) र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषलगायतका शिर्षकमा लाग्ने रकम श्रमिक स्वयंले तिर्नुपर्ने उनले बताए ।
समाजमा वैदेशिक रोजगार व्यवसायीले यी सबै रकम आफ्नै खल्तीमा राख्ने गरेको भन्ने गलत धारणा बनेको उल्लेख गर्दै उनले त्यसलाई अन्त्य गर्न लागत संरचना पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
उनले वैदेशिक रोजगारमा जान चाहने श्रमिकलाई शुरुदेखि नै कुन शिर्षकमा कति शुल्क लाग्छ भन्ने स्पष्ट जानकारी दिनुपर्ने बताए । यसले उनीहरूलाई आवश्यक आर्थिक तयारी गर्न सहज हुने उनकाे भनाइ छ ।
उनले वैदेशिक रोजगार रोजगार सम्बन्धी ऐन संसोधन गर्न पनि माग गरे । साथै उनले सरकारले घरेलु कामदार रोक्ने निर्णय गरे अवैध कामदार पठाउने वातावरण सिर्जना गरिरहेको आरोप पनि लगाए । भिजिट भिषाको नाममा घरेलु कामदार पठाईने गरेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्