काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नियमित माग धान्नसक्ने परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको दाबी गरेकी छिन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आकस्मिक, शुन्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले यस्तो दाबी गरेकी हुन् ।
बजारमा सहज उपलब्धता भइरहेकोमा साउनदेखि पूर्ण सिलिन्डर वितरण शुरु भएपछि एलपी ग्यासको माग एकाएक बढ्दा बजारमा केही असहजता सिर्जना भएको उनको भनाइ छ ।
उनले एलपी ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले सरोकारवाला निकायसँग समन्वय गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम गरिरहेको बताइन् ।
उनले बढ्दो मागलाई सम्बोधन गर्न नेपाल आयल निगम र मन्त्रालयले कुटनीतिक पहललाई निरन्तरता दिएको पनि बताइन् । कालोबजारी नियन्त्रण गर्न तथा कृत्रिम अभाव हुन नदिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिब्र बनाएको उनकाे भनाइ छ ।
मन्त्री कुमारीका अनुसार हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् । ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १ सय ६६ मेट्रिक टन रहेको छ भने दैनिक फिलिङ क्षमता करिव १ करोड ७५ लाख ग्यास सिलिन्डर रहेको छ । उनले बजारमा बढ्दो माग धान्नको लागि आयात बढाउन परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पठाइएको पनि बताइन् ।
उनले नेपाल आयल निगम क्विक रिस्पोन्स टिम गठन गरि ग्यास नपाएको गुनासोको तत्काल सम्बोधन गर्नेगरी व्यवस्थापन गरिएको समेत जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस्