काठमाडौँ । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा एक करोड नौ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायतका विभिन्न सेवा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको जिल्ला हुलाक कार्यालयका प्रमु्ख शालिकराम बस्यालले बताए ।
बस्यालका अनुसार समीक्षा अवधिमा सङ्कलित कुल राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट रु ५८ लाख ७२ हजार तथा काउन्टर अटोमेसन, पार्सल र रोयल्टीलगायतका अन्य सेवा शुल्कबाट रु ५० लाख ४४ हजार सङ्कलन भएको हो ।
गत आवमा कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विनियोजित कुल रु छ करोड ३३ लाख ६१ हजार वार्षिक बजेटमध्ये रु पाँच करोड ७७ लाख ३२ हजार खर्च भएको कार्यालय प्रमुख बस्यालले जानकारी दिए ।
नेपाल सरकारको निर्णयअनुसार गत वर्षदेखि चितवनमा ‘एक स्थानीय तह, एक हुलाक’को नयाँ सङ्गठनात्मक संरचना कार्यान्वयनमा ल्याइएको छ । हाल जिल्लाका छवटा स्थानीय तह राप्ती, खैरहनी, रत्ननगर, कालिका र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा पालिका हुलाक कार्यालय सञ्चालनमा रहेका छन् ।
यसबाहेक भरतपुर महानगरपालिकाभित्र चनौली, जगतपुर र नारायणगढमा तीनवटा हुलाक काउन्टर तथा १२ अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्