तामाकोशी–५ को एकैसाथ पाँच ठाउँबाट सुरुङ खन्न सुरु,समग्र वित्तीय प्रगति २५.९० प्रतिशत



काठमाडौँ । दोलखामा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी–५ जलविद्युत् आयोजनाको एकैसाथ पाँच ठाउँबाट सुरुङ खन्न सुरु भएको छ ।

मुख्य भूमिगत संरचना निर्माणलाई तीव्रता दिएको आयोजनाले पाँच ठाउँबाट सुरुङ खन्न सुरु गरेको हो ।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक आयोजना प्रगति प्रतिवेदनअनुसार आयोजनाले प्रतिवेदन अवधिमा हेडरेस सुरुङ (एचआरटी) को ७८४ मिटर खन्ने काम सम्पन्न गरिसकेको छ ।

तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हेडपोन्ड, स्पिलवे, मुख्य पहुँच सुरुङ (एमएटी), केबल तथा भेन्टिलेसन सुरुङ (सिभिटी), ट्रान्सफर्मर क्याभर्न, पावरहाउस अडिट सुरुङ, बसडक्ट ग्यालरी, इमर्जेन्सी एस्केप सुरुङ, अपस्ट्रिम म्यानिफोल्ड, अडिट–२, अडिट–३ तथा अन्य जडान सुरुङहरू खन्ने काम पुरा भएको हो ।

पाँचवटा वर्किङ फेस बाट एकैसाथ काम गर्दै मुख्य हेडरेस सुरुङ निर्माणलाई अघि बढाएको आयोजनाले जनाएको छ । प्रतिवेदनअनुसार हालसम्म कुल सुरुङ लम्बाइको करिब ९.६७ प्रतिशत बराबर ७८४ मिटरको काम सकिएको छ ।

भूमिगत संरचनाअन्तर्गत पावरहाउस निर्माणमा पनि उल्लेखनीय प्रगति भएको कम्पनीको प्रतिवेदनमा उल्लेख छ । पावरहाउस क्याभर्नको करिब ६४.७१ प्रतिशत खन्ने काम सम्पन्न भएको छ । पहिलो र दोस्रो तहको उत्खनन पूरा गरी तेस्रो तहको काम सुरु गरिएको र ट्रान्सफर्मर क्याभर्नको खन्ने काम पनि पुरा भइरकेको कम्पनीले जनाएको छ ।

यसैगरी, स्पिलवे सुरुङतर्फ आर्थिक वर्षमा २७३.३ मिटर अर्थात वार्षिक लक्ष्यको ९८.४ प्रतिशत पुरा भएको छ । अडिट–२ मा ४८८.६१ मिटर,अडिट–३ मा ३१४ मिटर तथा अडिट–४ मा ४०४.२ मिटर खन्ने काम सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

हेडपोन्ड क्षेत्रमा ११ हजार ९६० घनमिटर खनिएको छ । वन क्षेत्रको स्वीकृति तथा सार्वजनिक जग्गा भोगाधिकार अनुमति प्राप्त गर्न ढिलाइ हुँदा आयोजना करिब आठ महिनासम्म प्रभावित भएपनि अहिले काम तीव्र भएको कम्पनीले जनाएको छ ।

गौरिशंकर संरक्षण क्षेत्रका कारण रोकिएको आयोजना वन तथा वातावरण मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि २०८२ फागुन २४ गतेदेखि फेरि काम सुरु भएको थियो ।

रोकिएको काम फेरि सुरु भएपछि चार महिनाको अवधिमा थप २.६८ प्रतिशत भौतिक प्रगति हासिल भएको प्रतिवेदनमा उल्लेख छ ।

हाल आयोजनाको समग्र भौतिक प्रगति २१.६८ प्रतिशत पुगेको छ करिब २१.९५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको समग्र वित्तीय प्रगति २५.९० प्रतिशत पुगेको छ ।

हालसम्म ५ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको छ भने प्रतिवेदन अवधिमा मात्रै २ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । संरक्षण क्षेत्रका कारण रोकिए पनि तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ ।