प्रधानमन्त्री राजदूतसँग र अर्थमन्त्री बहुराष्ट्रिय लगानीकर्तासँग छलफलमा


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा रहेका विदेशी राजदूतसँग छलफलमा छन् भने अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठुला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल कार्यक्रम राखेका छन् ।

यसअघि राजदूतहरूसँग सामूहिक छलफल गरेका प्रधान्त्री शाहले आज एक्लाएक्लै भेटघाट कार्यक्रम राखेका छन् ।

अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठुला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ ।

मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजेदेखि छलफल राखिएको छ ।

छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्ने मन्त्रालयले जनाएको छ ।

यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठुलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरेका थिए भने वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरेका थिए ।

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीका विभिन्न सङ्घ संस्थासँग छलफल गरिसकेका छन् ।