देशमा नागरिकदेखि सांसदसम्म कोही पनि सुरक्षित छैनन् : हर्क साङपा


काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जनताको वास्तविक समस्या बुझ्न असफल भएको आरोप लगाउँदै देशमा नागरिकदेखि सांसदसम्म कोही पनि सुरक्षित नरहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले देशमा झैझगडा, आगजनी र धम्कीका घटना भइरहे पनि उजुरीपछि प्रभावकारी कारबाही हुन नसकेको गुनासो गरे। नागरिकले यात्रा गर्दा समेत असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।

साम्पाङले सरकार र जनताबीच दूरी बढेको भन्दै मन्त्रीहरूले मन्त्रालयको एसीयुक्त कोठामा बसेर मात्र देशको अवस्था बुझ्न नसक्ने टिप्पणी गरे। माइतीघरमा लामो समयदेखि आन्दोलनरत नागरिकलाई भेटेर उनीहरूको समस्या बुझ्नसमेत उनले सरकारलाई आग्रह गरे।

जनताले भोगिरहेको दैनिक समस्याप्रति सरकार संवेदनशील हुनुपर्ने बताउँदै उनले ग्यासको लाइनमा घण्टौँ बस्नुपर्ने नागरिकको पीडा सरकारले अनुभूति गर्न नसकेको आरोप लगाए।

उनले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति समेत असन्तुष्टि जनाउँदै सरकारभित्रै पर्याप्त समन्वय हुन नसक्दा समस्या थपिएको दाबी गरे। सरकारको गैरजिम्मेवारीकै कारण देशमा असुरक्षा र असन्तुष्टि बढेको उनको आरोप थियो।