काठमाडौं । एनसेलले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँबाट उपलब्ध गराउने ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ।
स्थानीय रूपमा समर्थित यो प्लेटफर्म नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थालाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ।
नेपाली व्यवसायहरू डिजिटल माध्यमतर्फ अघि बढ्दै जाँदा देशभित्रै सहज रूपमा पहुँच र व्यवस्थापन गर्न सकिने भरपर्दो वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको भन्दै एनसेलले डोमेन र वेब होस्टिङ सेवासहितका सुविधा एकीकृत रूपमा उपलब्ध गराउने गरी क्लाउडसुइट सुरु गरेको हो।
एनसेलका अनुसार ग्राहकले एउटै एकीकृत प्लेटफर्ममार्फत डोमेन दर्ता गर्न, वेबसाइट होस्ट गर्न तथा आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्नेछन्। सेवामा डोमेन नवीकरण, डोमेन ट्रान्सफरका लागि सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनलगायतका सुविधा उपलब्ध हुनेछन्।
कम्पनीले व्यवसायको विकासको चरण र आवश्यकताअनुसार व्यावसायिक वेब होस्टिङका विकल्पसमेत उपलब्ध गराएको छ। ग्राहकले अन्तर्राष्ट्रिय होस्टिङ सेवा खरिद गर्दा विदेशी मुद्रा प्रयोग गर्नुपर्ने अवस्थाबाट मुक्त हुँदै नेपाली मुद्रामै भुक्तानी गर्न सक्ने एनसेलले जनाएको छ।
क्लाउडसुइटअन्तर्गत एनसेलले दुईवटा प्याकेज उपलब्ध गराएको छ। मासिक रु. १ हजार पर्ने बेसिक प्याकेज अनलाइन उपस्थिति स्थापना गर्न चाहने व्यक्ति तथा व्यवसायका लागि लक्षित छ। यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध छन्।
त्यस्तै, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायलाई लक्षित गरी प्रो प्याकेज ल्याइएको छ। मासिक रु। २ हजार पर्ने उक्त प्याकेजमा थप स्टोरेज तथा डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस तथा पाँच वटासम्म सबडोमेन उपलब्ध छन्। यसमा एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधासमेत समावेश छन्।
एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले क्लाउडसुइट सेवा नेपालका धेरै व्यवसायलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति निर्माण गर्न सहयोग गर्ने बताए।
“एनसेल बिजनेस क्लाउडसुइटको सुरुवात नेपालका धेरैभन्दा धेरै व्यवसायलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति बनाउन मद्दत गर्ने महत्वपूर्ण कदम हो। डोमेन नाम र भरपर्दो वेब होस्टिङ हरेक डिजिटल यात्राको आधार हो,” उनले भने, “स्थानीय सहयोग, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङको सुविधा उपलब्ध गराएर हामी व्यवसायलाई थप आत्मविश्वास र नियन्त्रणका साथ डिजिटल क्षेत्रमा अघि बढ्न सहज बनाउँदैछौँ।”
क्लाउडसुइटको पहिलो चरणमा डोमेन र वेब होस्टिङ सेवामा केन्द्रित गरिएको उनले बताए। उनका अनुसार डिजिटल क्षेत्रमा प्रवेश गर्ने धेरै व्यवसायका लागि यी सेवा तत्काल आवश्यक पर्ने पूर्वाधार हुन्।
एनसेलका अनुसार क्लाउडसुइट सेवामार्फत वेबसाइट होस्टिङ र डेटा होस्टिङ नेपालभित्रै हुनेछ। यसले ग्राहकलाई आफ्नो वेबसाइट डेटा तथा अन्य डिजिटल सम्पत्ति देशभित्रै राख्ने सुविधा दिनेछ।
नेपालमै डेटा रहने व्यवस्थाले व्यवसाय तथा संस्थालाई आफ्नो डिजिटल डेटामाथि थप नियन्त्रण कायम गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ। साथै, विभिन्न नियामकीय आवश्यकताहरू पूरा गर्न पनि यसबाट सहज हुने एनसेलले जनाएको छ।
कम्पनीका अनुसार पछिल्लो समय नेपाली व्यवसाय तथा संस्थाहरूले आफ्नो सेवा, उत्पादन र गतिविधिलाई डिजिटल माध्यममा विस्तार गरिरहेका छन्। यस्तो अवस्थामा डोमेन दर्तादेखि वेबसाइट होस्टिङ र त्यसको व्यवस्थापनसम्मका आधारभूत डिजिटल सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यले क्लाउडसुइट सुरु गरिएको हो।


प्रतिक्रिया दिनुहोस्