काठमाडौँ ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न अपिल गरेको छ।
चीनको तिब्बत क्षेत्रबाट भदौ १० गते आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ।
संघका अध्यक्ष कृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस विषम र अकल्पनीय घडीमा सबैले आफू सुरक्षित रहँदै मानवीय सहायतामा जुट्नुपर्ने आवश्यकता छ। संघ एकताबद्ध भई मानव सेवा र राहत कार्यमा निरन्तर प्रतिबद्ध रहनेछ।”
नामियाले बाढी प्रभावित क्षेत्र नजिक रहेका आफ्ना स्थानीय सदस्यहरूलाई उद्धार तथा राहत टोलीसँग समन्वय गरी प्रत्यक्ष सहयोगमा जुट्न पनि आग्रह गरेको छ। संघ नेपालमा कृषि यन्त्र र प्रविधि व्यवसायमा संलग्न व्यवसायीहरूको छाता संगठन हो।


प्रतिक्रिया दिनुहोस्