काठमाडौं ।
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने भएको छ।
ग्रुपका अनुसार आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमार्फत उक्त सहयोग उपलब्ध गराइनेछ। सहयोगमा ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आइएमई फाउन्डेसन लगायतका कम्पनी तथा संस्थाको सहभागिता रहनेछ।
यसैगरी, आइएमई ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीका तर्फबाट समेत एक दिनको तलब बराबरको रकम सहयोग गरिने ग्रुपले जनाएको छ।
बाढी प्रभावितका लागि स्वदेश तथा विदेशबाट सहयोग जुटाउन आइएमईले विभिन्न माध्यमसमेत खुला गरेको छ। संसारभरबाट नेपालमा सहयोग रकम पठाउँदा निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराइएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट प्लस मोबाइल एप तथा खल्ती बाई आइएमई मोबाइल वालेटमार्फत सरकारको राहत कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।
आइएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि ग्रुपले जनाएको छ।
ग्रुपका अनुसार अकल्पनीय विपद्मा बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित नागरिकका लागि खाद्यान्न तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गर्न लागिएको हो।
आइएमई ग्रुपले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, उद्धार, राहत तथा पुनर्स्थापनामा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कृतज्ञता व्यक्त गरेको छ।
यसअघि पनि देशका विभिन्न क्षेत्रमा आएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीलगायतका विपद्का समयमा आइएमई ग्रुपले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्