बाढी र पहिरोले विभिन्न राजमार्ग अवरुद्ध


काठमाडौँ । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। सडक भासिने तथा पहिरो खस्ने क्रम नरोकिँदा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएपछि मानिससमेत आवतजावत गर्न नसक्ने गरी उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, धादिङकै गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँशीसहर–मनाङ सडकसमेत पूर्ण रूपमा अवरुद्ध रहेको छ।

यसैगरी, ओखलढुङ्गाको सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ जोड्ने सडक पनि अवरुद्ध भएको छ।

अविरल वर्षाका कारण मुगुबाट गमगढीतर्फ आउने सडकसमेत अवरुद्ध भएको छ । वर्षाका कारण सडकमा क्षति पुगेपछि उक्त सडकखण्डमा यातायात सञ्चालन प्रभावित भएको हो।

लगातारको वर्षाका कारण देशका विभिन्न सडकखण्डमा बाढी, पहिरो तथा सडक कटानको जोखिम बढेको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्।