ल्हेन्दे-भोटेकोशी प्रकोपमा ५ जिल्लाका कम्तिमा २६  हजार परिवार प्रभावित


काठमाडौँ । गत साताको भयावह ल्हेन्दे-भोटेकोशी प्रकोपले पाँच जिल्लाका ४९ वटा वडाका  कम्तिमा २६ हजार परिवार प्रभावित भएको पाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १० गते रसुवाको उत्तरी सीमावर्ती टिमुरे नाका हुँदै भोटकोशी नदीमा आएको भीषण बाढीका कारण उत्तरी हिमाली मुहानदेखि दक्षिणी तटीय क्षेत्रसम्मका पाँच जिल्लाका ४९ वडा प्रभावित भएको पुष्टि गरेको छ।

राष्ट्रिय जनगणना २०७८ को वडागत तथ्याङ्क अनुसार भोटकोशी तथा त्रिशूली नदी प्रणाली वरपरका १५ वटा स्थानीय तहका कुल ३८ हजार २ सय १९ घरधुरीका कुल १ लाख ५६ हजार ८ सय ५० नागरिक यो लेदो तथा ग्रेग्यानसहितको बाढीबाट प्रभावित भएका देखिन्छ।

यी प्रभावित क्षेत्रका अनुमानित ३० प्रतिशत भौगोलिक उचाइ र नदी बहाव क्षेत्रभन्दा बाहिर रहेकाले २६ हजार ७५४ घरधुरीका एक लाख ९ हजार ७०० नागरिक सोझै प्रकोपको कहरमा परेका पाइएको हो।

हिमाली जलाधार क्षेत्रमा पर्ने टिमुरे नाकामाथि हिमाली भेगको ताल धस्सिदा त्यससँगै १८० किमि/प्रतिघण्टाको दरले भू-स्खलनसहित ल्हेन्दे खोलाबाट बगेर आएको  लेदो र गेग्र्यानसहितको भीषण पछि भोटकोशीमाबाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका तटीय बस्तीहरूमा गम्भीर भौतिक तथा मानवीय सङ्कट निम्त्याएको प्राधिकरणले जनाएको छ। 

जनगणनाको तथ्याङ्क अनुसार रसुवाका चार पालिकाका ११ वडामा ११ हजार ८ सय ८७ जनसङ्ख्या बाढीको सोझो प्रभाव क्षेत्रभित्र परेका छन्  भने नुवाकोटका चार पालिकाका ११ वडाका ३१ हजार ५ सय ७७ नागरिक बाढीको सीधा जोखिममा परेका देखिन्छन्।

नदी प्रणालीको उपल्लो मुहान क्षेत्र रसुवामा ल्हेन्दे-भोटेकोशी प्रकोपको सीधा प्रहार परेको छ। रसुवाका चार पालिकाका ११ वडामा ३ हजार १८ घरधुरीका ११ हजार ८ सय ८७ जनसङ्ख्या बाढी, पहिरो र लेदो बहावबाट प्रभावित भएका देखिन्छ।

उत्तरगया गाउँपालिकाका सबै पाँचवटै वडाहरूमा एक हजार ५३२ घरधुरीका ५ हजार ९ सय ८९ नागरिक बसोबास गर्छन् भने पर्यटकीय तथा व्यापारिक केन्द्र स्याफूबेँसी पर्ने गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर ५ मा मात्रै ४ सय ८ घरधुरीका १ हजार ७ सय ३० नागरिक पनि प्रकोप झलेका छन् ।

कालिका गाउँपालिकाको वडा नम्बर १ मा १ हजार ८ सय ५ र आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर १ मा १ हजार ४४ नागरिक उपल्लो जलाधारको भौगोलिक जोखिममा परेका छन्, जसमध्ये यकिन क्षतिको तथ्याङ्क अझै सङ्कलनहुन सकेको छैन।

त्यसैगरी धादिङ जिल्लाका चार स्थानीय तहका १८ वटा वडाका नागरिक प्रकोपको चपेटामा परेका छन् । पृथ्वी राजमार्ग र त्रिशूली नदीको किनारैकिनार अवस्थित धादिङका चार पालिकामा मात्रै ११ हजार २ सय ३३ घरधुरी प्रत्यक्ष विपद्‌को चपेटामा रहेका पाइएको छ। 

यस तथ्याङ्कमा प्रभावित क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजना, सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत अन्य जिल्लाका हजारौँ कर्मचारी र मजदुरहरूको सङ्ख्या समावेश नगरिएकाले प्रत्यक्ष जोखिममा रहनेको कुल सङ्ख्या योभन्दा अझै बढी हुने देखिन्छ।