धापासी हाइटमा सुविधा सम्पन्न ब्युटि सलुन सञ्चालनमा


काठमाडौँ । काठमाडौँको धापासी हाइटमा सुविधा सम्पन्न ब्युटि सलुन सञ्चालनमा आएको छ । सौन्दर्य क्षेत्रमा पछिल्लो ६ वर्षदेखि सक्रिय बुटवलकी २८ वर्षीया अस्मिता ज्ञवालीले ‘आकु ब्युटी पार्लर’ सञ्चालनमा ल्याएकी हुन्।

आधुनिक प्रविधि र सौन्दर्य सेवाका नयाँ विधिलाई प्राथमिकता दिँदै ज्ञवालीले सलुन व्यवसायमा ५० लाख लगानी गरेकी छन्। सौन्दर्य क्षेत्रमा हासिल गरेको अनुभव र सीपलाई व्यवसायिक रूपमा विस्तार गर्ने उद्देश्यले सलुन सञ्चालनमा ल्याएको उनले बताइन्।

पछिल्लो समय सौन्दर्य सेवाको माग बढ्दै जानुका साथै ग्राहकको रोजाइमा समेत परिवर्तन आएको ज्ञवालीको भनाइ छ। आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय सेवा र ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गर्ने उनको योजना छ।

‘आकु ब्युटी पार्लर’मार्फत आधुनिक तथा प्रविधिमैत्री सौन्दर्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। ग्राहकको आवश्यकता र मागअनुसार विभिन्न सौन्दर्यसम्बन्धी सेवा प्रदान गर्ने गरी सलुनको संरचना तथा सेवा सुविधा तयार गरिएको ज्ञवालीले बताइन्।

सौन्दर्य व्यवसायलाई रोजगारी र उद्यमशीलताको सम्भावना भएको क्षेत्रका रूपमा समेत उनले लिएकी छन्। आगामी दिनमा व्यवसायको सेवा विस्तारसँगै थप रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको ज्ञवालीले बताइन्।

६ वर्षदेखि सौन्दर्य क्षेत्रमा काम गर्दै आएकी ज्ञवालीले आफ्नो व्यावसायिक अनुभवलाई लगानीमा रूपान्तरण गर्दै सलुन व्यवसाय सुरु गरेकी हुन्। युवा पुस्तामा उद्यमशीलता बढिरहेका बेला सौन्दर्य क्षेत्रमा गरिएको उनको लगानीलाई महिला उद्यमशीलताको उदाहरणका रूपमा समेत लिन सकिन्छ।