कान्ति लोकपथ अवरुद्धपछि सुगम र एभरेस्ट ग्यास लिएर आएका १४ वटा गाडी २२ कर्मचारीसहित बिचमै रोकिए


काठमाडौँ । हेटौँडाबाट सुगम र एभरेस्ट ब्रान्डको ग्यास लिएर आएका १४ वटा गाडी बिचबाटोमै रोकिएका छन् ।

कान्ति लोकपथको ललितपुर खण्डमा आएको पहिरो कारण ग्यास बोकेका गाडी रातभर बाटोमै अलपत्र परेका हुन् ।

साँझसम्म काठमाडौं आइपुग्ने गरी हेटौँडाबाट १३ सय १२ सिलिन्डरमा ग्यास भरेर आएका गाडीहरू हिजो बेलुकी साँझ ६ बजेदेखि २२ जना कर्मचारीसहित राकिएका हुन् ।

२२ जना कर्मचारी रातभरीको झरीमा भोकै जङ्गलको बाटोमा फसेका थिए । राती कुनै निकायबाट उद्दारको पहल हुन नसकेको उद्योग शिवप्रसाद घिमिरेले जानकारी दिए ।

कृष्णभीरमा सडक भासिएपछि साहारा ग्यासले आफ्नो भगिनी कम्पनी एभरेष्ट ग्यास लिमिटेड र सुगम ग्यास उद्योग प्रालिका सिलिन्डरहरू मकवानपुरमा रिफिल गरेर काठमाडौँ र आसपासका जिल्लामा वितरण गर्न सुरु गरेको छ ।

तीन ओटै कम्पनी एसजी ग्रुप अन्तर्गतको हुन् । एभरेष्ट ग्यास काठमाडौँको चाल्नाखेल र सुगम ग्यास नौबिसे धादिङमा रहेका छन् । ग्यास बुलेट नौबिसे र धादिङ आउने अवस्था छैन । साहारा ग्यास मकवानपुरको बासामाडीमा छ ।

विपद्को अवस्थामा उपभोक्तालाई ग्यास अभाव हुन नदिन सुगम ग्यास र एभरेष्ट ग्यासका सिलिन्डर मकवानपुरको साहरा ग्यासको प्लान्टबाट रिफिल गरेर काठमाडौँ उपत्यका र आसपासका जिल्लामा पठाउने व्यवस्था मिलाइएको घिमिरेले जानकारी दिए ।

बन्द सडक खुलाउने प्रयास भइरहेकाे छ ।