काठमाडौँ । भाेटेकाेशीमा आएकाे भीषण बाढी तथा प्राकृतिक विपत्तिपछि चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उद्धार, राहत तथा पूर्वाधार पुनःस्थापनाका लागि सबै सरोकारवाला निकायसँग सहयोगको आग्रह गरेको छ।
कम्पनीले बाढीका कारण ६ जना कर्मचारी वेपत्ता भएको र सडक, विद्युत्, सञ्चार सेवा, स्थानीय बस्ती तथा सार्वजनिक संरचनाहरूमा गम्भीर क्षति पुगेको छ ।
प्रभावित क्षेत्रमा आवतजावत र सञ्चार सम्पर्कसमेत अवरुद्ध हुँदा उद्धार तथा राहत कार्य सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको कम्पनीले जनाएको छ ।
बाढीका कारण कम्पनीद्वारा सञ्चालित २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा कार्यरत ६ जना कर्मचारी सम्पर्कविहीन रहेका छन् । विद्युतगृहमा समेत ठुलो क्षति पुगेकाले आयोजना तत्काल सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको कम्पनीले उल्लेख गरेको छ ।
यसैगरी, चिलिमे कम्पनीको अगुवाइमा स्थापना भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि बाढीबाट पूर्ण रूपमा प्रभावित भएको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रभावित क्षेत्रमा फसेका कर्मचारीको उद्धार, विद्युत् आपूर्ति पुनःस्थापना तथा सडक लगायतका पूर्वाधार मर्मतका लागि अधिकतम प्रयास भइरहेको जानकारी दिँदै सरकारी निकाय, सुरक्षा निकाय, विपद् व्यवस्थापन सम्बन्धी संस्थाहरू तथा अन्य सरोकारवालासँग आवश्यक सहयोग उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
प्राकृतिक विपत्तिका कारण जनजीवन संकटमा परेका बेला उद्धार, राहत र पुनःस्थापनामा सबै पक्षको एकताबद्ध सहयोग आवश्यक रहेको कम्पनीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्