काठमाडाैँ । राष्ट्रिय सभाका सदस्यहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले बेपत्ता नागरिकहरूको खोजी, प्रभावकारी राहत वितरण र ‘राष्ट्रिय शोक दिवस’ घोषणा गर्न माग गरेका हुन् ।
बैठकमा बोल्दै सांसद कमला पन्तले मनसुनजन्य विपत्तिका बारेमा संसदमा पटक–पटक पूर्वसावधानीका लागि ध्यान आकर्षण गराउँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाइन् ।
उनले जलवायु परिवर्तनका कारण यस्ता जोखिम बढिरहेकाले चेतावनीलाई बेवास्ता नगरी तत्काल उद्धारमा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरिन् ।
सांसद मदनकुमारी शाहले बाढीका कारण ९ सय भन्दा बढीको मृत्यु भएको र हजारौँ बेपत्ता भएको जानकारी दिँदै १७ हजारभन्दा बढी बालबालिका प्रभावित भएको बताइन् ।
उनले ‘अरूको विकासको कारण हामीले विनाश भोग्नुपरेको’ उल्लेख गर्दै राष्ट्रिय झण्डा झुकाएर शोक व्यक्त गर्न र सेल्टरमा रहेका महिला तथा बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन माग गरिन् ।
अर्का सांसद युवराज शर्माले नेपालको कमजोर पूर्वसूचना प्रणालीलाई अत्याधुनिक बनाउनुपर्नेमा जोड दिँदै प्रचारभन्दा पनि परिणाममुखी कार्य गर्न सरकारलाई सुझाए । उनले राहत र पुनस्र्थापनामा ढिलाइ भए महामारीको अर्को सङ्कट निम्तिन सक्ने चेतावनीसमेत दिए ।
विपद्को समयमा राहत वितरणका लागि अपनाइएको ‘एकद्वार प्रणाली’ले पीडितलाई थप आक्रान्त बनाएको भन्दै सांसद नरबहादुर विष्टले त्यसको कडा निगरानी गर्न आग्रह गरे ।
सांसद नारायणदत्त मिश्रले १५ दिनसम्म सम्पर्कमा नआएका बेपत्ता व्यक्तिहरूलाई मृतक घोषणा गरी प्रक्रिया अघि बढाउन र नदी किनारभन्दा निश्चित दूरीमा मात्र सडक तथा भवन निर्माण गर्ने नीति ल्याउन सुझाव दिए ।
सांसद जयन्तीदेवी राईले बाटो, बिजुली र सञ्चार विच्छेद भएका कारण राहत पु¥याउन कठिन भइरहेको भन्दै काठमाडौँ छिरेका विस्थापितहरूका लागि होल्डिङ सेन्टर र गुम्बाहरूमा उचित व्यवस्थापन गर्न माग गरिन्।
यस्तै, सांसद राजेन्द्रलक्ष्मी गैरेले सुरुङ र भग्नावशेषमा पुरिएकाहरूको खोजीमा तदारुकता देखाउन र दीर्घरोगीहरूका लागि औषधिको व्यवस्था गर्न ध्यानाकर्षण गराइन् ।
सांसद सुरेशकुमार आले मगरले विकसित राष्ट्रहरूको पुँजीवादी विकासका कारण वातावरणीय सन्तुलन बिग्रिएको र त्यसको मूल्य नेपालजस्ता मुलुकले चुकाउनुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सरकारसँग माग गरे ।
सांसद सोनाम ग्याल्जेन शेर्पाले विपद्को यस घडीमा सबै एकजुट हुन आह्वान गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मी र सङ्घसंस्थाप्रति आभार व्यक्त गरे ।
बैठकमा सांसद भुवनबहादुर सुनारले मुलुक विपत्तिमा परेका बेला प्रधानमन्त्रीको मुस्ताङ भ्रमण र त्यहाँ भएका भेटघाटहरूका विषयमा जनस्तरबाट उठेका आशङ्काहरूबारे स्पष्ट पार्न माग गरे । सांसदहरूले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्