काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माणमा जोड दिनुपर्ने पाठ सिकाएको बताएका छन् ।
मंगलबार सिंहदरबास्थित मन्त्रालय स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का पदाधिकारीहरुसँगको छलफल तथा सहयोग हस्तान्त्ररण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।
उनले जलवायुजन्य विपद्को सामना गर्नसक्ने तथा भौगोलिक बनावटलाई समेत मध्यनजर गरेर पूर्वाधार निर्माण गर्नुपर्ने अबको आवश्यकता रहेको बताए । उनले भोटेकोशी–त्रिशूली करिडोरको भौगोलिक बनावट र प्रतिकूल मौसमी अवस्थाका कारण विपद्को जोखिम उच्च रहेको उल्लेख गर्दै देशका अन्य मुख्य करिडोरमा पनि यस्तै बाढी आए ठूलो क्षति हुनसक्ने उल्लेख गरे ।
मन्त्री श्रेष्ठले अब पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनका सम्भावित प्रभावलाई पूर्वानुमान गरी त्यसअनुसार संरचना निर्माण निर्माण गर्नुपर्ने बताए । विपद्का समयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सरकारसँग गरेको समन्वय र सहकार्यको प्रशंसा गर्दै नीतिगत सुधार र भविष्यका सम्भावनाको खोजीमा समेत सहकार्य आवश्यक रहेको उनकाे भनाइ छ ।
उनले विपद्को समयमा सबै पक्ष एकजुट भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिनुपर्नेमा समेत जोड दिए । उनले सरकारले जलविद्युत आयोजनाका सुरुङ तथा टनेलमा फसेका नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै विपद्का बेला राज्यको व्यवहार सबैप्रति समान रहेको दाबी गरे ।
उनले विपद्को समयमा सरकार नागरिकसँगै छ भन्ने विश्वास दिलाउन सफल भएको दाबी पनि गरे ।


प्रतिक्रिया दिनुहोस्