काठमाडाैँ । रसुवा बाढीका कारण जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेकाको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले टनेल रेक्स्युमा प्रगति हुन नसकेको बताएका हुन् । उनकाअनुसार टनेल रेस्क्यूको लागि नेपाली टोलीसँगै भारत र चीनबाट आएका टनेल विशेषज्ञहरूले काम गरिरहेका छन् ।
उद्धार टोलीले कठिन भौगोलिक अवस्थाबीच निरन्तर प्रयास गरिरहेको उनले बताए । उनकाअनुसार भारतबाट आएका २४ सदस्यीय दुई टोली र चीनबाट आएको नौ सदस्यीय विशेष सुरुङ उद्धार टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन् ।
उनले भने, “टनेल रेक्स्युको लागी हाम्रो टिम पहिलेदेखी नै खटिईराखेको छ, भारत र चीनबाट आएका टनेल विशेषज्ञ टोलीले पनि सहयोग गरिरहेको छ । त्यहाँको भुगोलको असहज अवस्था र कठिनाईलाई पन्छाउँदै उहाँहरुले दिनरात नभनी काम गरिरहनुभएको छ । तर केही बेर अगाडीसम्मको हाम्रो जानकारीमा कुनै त्यस्तो प्रोसेस भएको भन्ने कुरा आएको छैन । उहाँहरु प्रयासरत नै हुनुहुन्छ ।”
भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य काम गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ए आयोजना क्षेत्रमा खोजी गरिरहेको छ । दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आउन लागेको उनले जानकारी दिए। बाढी गएको ७ दिनसम्म पनि चिलिमे र लाङटाङ, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशुली–३ बी लगायतका आयोजनामा फसेकाहरुको उद्धार गर्न सकिएको छैन ।


प्रतिक्रिया दिनुहोस्