काठमाडौँ । भोटेकोशी बाढीका कारण प्रभावित दूरसञ्चार पूर्वाधार पुनःस्थापनामा महत्वपूर्ण प्रगति भएको छ ।
नेपाल टेलिकम र एनसेलले अवरुद्ध टावरहरू क्रमशः सञ्चालनमा ल्याउँदै प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालन गरेका छन् ।
तथ्याङ्कअनुसार बाढीअघि नेपाल टेलिकमका १२० वटा टावर सञ्चालनमा रहेकामा बाढीपछि ३८ वटा टावर अवरुद्ध भएका थिए ।
पुनःस्थापना अभियानअन्तर्गत तीन दिनअघि ९० वटा टावर सञ्चालनमा ल्याइएको थियो भने बाढीको छैठौँ दिनमा यो सङ्ख्या बढेर १०६ पुगेको छ । मङ्गलबारसम्म नेपाल टेलिकमका ११० वटा टावर अर्थात् ९१.६ प्रतिशत पुनः सञ्चालनमा आइसकेका छन् ।
त्यस्तै, एनसेलका बाढीअघि सञ्चालनमा रहेका ७८ टावरमध्ये २७ वटा प्रभावित भएका थिए ।
कम्पनीले द्रुत मर्मत तथा प्राविधिक व्यवस्थापनमार्फत तीन दिनअघि ७१ वटा र बाढीको छैँठौ दिनसम्म ७५ ओटा टावर सञ्चालनमा ल्याएको छ । हिजोसम्म ऐनसेलका ७५ ओटा टावर अर्थात् ९६.१ प्रतिशत सेवा पुनःस्थापित भएको छ ।
दूरदराज तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा सञ्चार पहुँच कायम गर्न २० ओटा स्याटलाइट फोन समेत वितरण गरिएको छ । ती उपकरण हाल प्रभावित क्षेत्रमा सञ्चार सेवाका लागि प्रयोगमा रहेको सरकारले जनाएको छ ।
अवरुद्ध टेलिकमका टावरहरूलाई पुन ः सञ्चालन गर्न आवश्यक इन्धन, सोलार प्यानल तथा जेनेरेटर हेलिकप्टर र सडकमार्फत ढुवानी गरिएको थियो ।
दूरसञ्चार सेवा बहाल भएसँगै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, सुरक्षा समन्वय तथा सर्वसाधारणको सूचना आदानप्रदानमा सहजता आएको सरोकारवालाहरूले बताएका छन् ।
अहिले बाँकी टावरहरू पनि यथाशीघ्र सञ्चालनमा ल्याउन प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा खटिरहेका सम्बन्धित कम्पनीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्