भोटेकोशी बाढी : मेजर जनरलको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, सशस्त्रको १३ ओटा विपद् प्रतिकार्य बेस


काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको बाढीको उद्दार कार्य जारी छ । जलविद्युत्को सुरुङमा फसेका तथा भत्किएका घरमा फसेका व्यक्तिहरूको खोजी चलिरहेको छ ।

शव सङ्कलन र पहिचान जारी छ । बाढी आउने वित्तिकै सैनिक मुख्यालयको योजना अनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथी(मेजर जनरल)को नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ खडा गरी उद्धार कार्य भइरहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा जानकारी गराएअनुसार रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’,चिकित्सकसहितको‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिरहेको छ ।

प्रभावित क्षेत्रको कठिन भूगोलहरूमा अन्य सुरक्षा निकायहरूको सहयोग लिएर नेपाली सेनाले उद्धार कार्यको अगुवाइ गरिरहेको छ । विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धार कार्यको नेतृत्व गरिरहेको छ ।

यो उद्धार टोलीमा सशस्त्र प्रहरी बल, नेपालको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टिम’ परिचालन भइरहेको प्रधानमन्त्रीले जानकारी गराएको विवरणमा उल्लेख छ । साथै, सेनाले तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र बाटो खोल्ने काम तीव्र पारेको छ ।

नुवाकोटको देवीघाटमा सेना आफैले आफ्ना इन्जिनियरहरू परिचालन गरी एक्रो ब्रिज जडान गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा अहिले ९ हजार २ सय ८७ जना सेना खटिएका छन् ।

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा सुरुआतबाटै अग्रपङ्क्तिमा खटिएर खोज, उद्धार तथा राहत वितरणमा नेपाल प्रहरी सक्रिय छ । तालिमप्राप्त कुकुरहरूले खोजी तथा उद्धारलाई सहयोग गरेका छन् । प्रधानमन्त्रीको जानकारी विवरणमा भनिएको छ,“घाइतेहरूलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउने काम भइरहेको छ। शव व्यवस्थापनमा प्रहरीले नेतृत्व गरिरहेको छ ।

जोखिमपूर्ण क्षेत्रहरूमा निरन्तर सूचना प्रवाह गर्दै नागरिकको जिउधनको सुरक्षा गरिरहेको छ ।” हाल बाढी प्रभावित क्षेत्रमा ७ हजार ९ सय ७५ प्रहरी खटिरहनु भएको छ।

सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोलीमार्फत प्रत्यक्ष खोज तथा उद्धारमा सक्रिय रूपमा खटिरहेको छ । त्यसको लागि प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमान्ड पोस्ट, १३ ओटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको प्रधानमन्त्री शाहको जानकारी विवरणमा उल्लेख छ ।

ड्रोन स्क्वाड परिचालन गरिरहेको छ केनाइन टोली पनि सँगसँगै खटाएको छ । विवरणमा भनिएको छ,“प्रभावित क्षेत्रमा उपचार सेवा दिइरहेको छ। प्रभावित क्षेत्रको नेपाल चीन सीमानामा नेपाली झण्डा स्थापना गर्न सफल भएको छ। हाल प्रभावित क्षेत्रमा ४ हजार २ सय ३ जना सशस्त्र प्रहरी खटिरहनुभएको छ ।”

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ११ बजेसम्म भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सङ्ख्या १ हजार ३ सय ५५ पुगेको छ । ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन् ।