काठमाडौँमा ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरुः अर्गानिक उत्पादनको प्रवर्द्धनमा सरकारको जोड


काठमाडाैँ । काठमाडौँको भद्रकालीस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा सोमवारदेखि ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरु भएको छ । 

जुम्लाको अर्गानिक स्याउको प्रचार–प्रसार तथा बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । प्रदर्शनीको पहिलो दिन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गरिन् ।

सो क्रममा उनले जुम्ली स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्यनजर गर्दै यसको ब्राण्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताइन् ।

मन्त्री चौधरीले अर्गानिक उत्पादनलाई प्रोत्साहन दिनु राज्यको प्राथमिकता रहेको उल्लेख गर्दै नेपाली स्याउलाई स्वदेशी बजारमा स्थापित गर्न सरकारी तवरबाट आवश्यक नीतिगत तथा व्यावहारिक पहल गरिने विश्वास दिलाइन् ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदा किसानको आर्थिक जीवनस्तरमा सुधार आउने बताउँदै उनले जुम्ली स्याउ जस्ता मौलिक उत्पादनको संवद्र्धनका लागि यस्ता प्रदर्शनीले महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गरिन् ।

साताव्यापी रूपमा चल्ने यस प्रदर्शनीमा जुम्लाका विभिन्न बगैँचाबाट ल्याइएका अर्गानिक स्याउहरू उपभोक्ताका लागि प्रत्यक्ष बिक्री वितरणमा राखिएका छन् ।

प्रदर्शनीमार्फत जुम्ली स्याउको बजार विस्तारमा सहयोग पुग्ने र उपभोक्ताले प्रत्यक्ष रूपमा गुणस्तरीय अर्गानिक फलफूल प्राप्त गर्ने अपेक्षा गरिएको छ ।