अस्ट्रेलियामा घरजग्गाको कुल मूल्य सन् २०२२ यताकै पहिलोपटक घट्यो


काठमाडौँ । अस्ट्रेलियामा आवासीय घरजग्गाको कुल मूल्य सन् २०२२ यता पहिलोपटक त्रैमासिक रूपमा घटेको छ । अस्ट्रेलियाली तथ्याङ्क ब्युरोले मंगलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ को जुनमा समाप्त त्रैमासिकमा देशभरका आवासीय घरजग्गाको कुल मूल्य ०.३ प्रतिशतले घटेर १२.७ ट्रिलियन अस्ट्रेलियाली डलरमा झरेको छ ।

यो करिव ९.१ ट्रिलियन अमेरिकी डलर बराबर हो । तथ्याङ्कअनुसार घरजग्गाको कुल मूल्य ३४.१ अर्ब अस्ट्रेलियाली डलरले घटेको हो । यसअघि सन् २०२२ को सेप्टेम्बर त्रैमासिकमा घरजग्गाको मूल्य घटेको थियो । अस्ट्रेलियाली तथ्याङ्क ब्युरोका वित्तीय तथ्याङ्क प्रमुख मिस टानले घरजग्गाको मूल्यमा आएको त्रैमासिक गिरावट मुख्य रूपमा सम्पत्तिको मूल्य घटेका कारण भएको बताए।

उनका अनुसार औसत आवासीय सम्पत्तिको मूल्य ०.७ प्रतिशतले घटेर करिव ११ लाख अस्ट्रेलियाली डलर पुगेको छ । यो गिरावट पछिल्लो समय अस्ट्रेलियाको आवास बजारमा देखिएको सुस्ततासँग मेल खाने उनको भनाइ छ । राज्यअनुसार औसत घरजग्गाको मूल्य न्यु साउथ वेल्समा २.४ प्रतिशत, भिक्टोरियामा २।१ प्रतिशत र अस्ट्रेलियाली राजधानी क्षेत्रमा १.३ प्रतिशतले घटेको छ ।

अन्य सबै राज्य तथा क्षेत्रमा भने मूल्य बढेको छ । कुल मूल्यका आधारमा पनि न्यु साउथ वेल्समा आवासीय सम्पत्तिको मूल्य २ प्रतिशत, भिक्टोरियामा ८८१.६ प्रतिशत र अस्ट्रेलियाली राजधानी क्षेत्रमा ०.७ प्रतिशतले घटेको छ । यद्यपि, त्रैमासिक रूपमा मूल्य घटे पनि अस्ट्रेलियाको कुल आवासीय सम्पत्तिको मूल्य अघिल्लो वर्षको तुलनामा अझै ८.५ प्रतिशत बढी रहेको तथ्याङ्कले देखाएको छ । यसैबीच, जुन त्रैमासिकमा अस्ट्रेलियामा आवासीय घरको संख्या ५४ हजार ४ सयले बढेर १ करोड १५ लाख ३० हजार पुगेको छ । न्युज एजेन्सी नेपाल