ग्यास अभाव रोक्न कम्पनी परिवर्तन गरी सिलिन्डर साट्न सरकारको निर्देशन


काठमाडौँ । बाढीका कारण ग्यास आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारले कम्पनी परिवर्तन गरेर सिलिन्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभए अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।

बाढीका कारण सडक तथा ढुवानी प्रणालीमा परेको असरले उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएपछि उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन यस्तो व्यवस्था गर्न लागिएको हो।

मन्त्री यादवले ग्यासको आपूर्ति सहज बनाउन कम्पनीहरूलाई आवश्यक समन्वय गर्न निर्देशन दिएकी छन् । साथै, निर्देशनविपरीत काम गरी उपभोक्तालाई ग्यास उपलब्ध गराउन असहयोग गर्ने कम्पनीमाथि कारबाही गर्ने चेतावनीसमेत दिएकी छिन्।

सरकारको यो व्यवस्थाले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको सिलिन्डरमार्फत उही मूल्यमा ग्यास प्राप्त गर्न सक्नेछन्।