काठमाडाैँ । नेकपा (एमाले)का सांसद गणेश सिंह ठगुन्नाले दार्चुलाको चमेलिया र महाकाली नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले प्रत्येक वर्ष मनसुनको समयमा दार्चुलाका अपिहिमाल, मार्मा र लेकम गाउँपालिका तथा महाकाली नदी तटीय क्षेत्रका नागरिक जोखिम मोलेर बस्ने गरेको बताए ।
सांसद ठगुन्नाले चमेलिया नदी किनारमा रहेको दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा अविलम्ब पक्की तटवन्ध निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले गोकुलेश्वरमा तटबन्ध निर्माणका लागि विगतमा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)सहितको बहुवर्षीय फाइल अर्थ मन्त्रालयमा अड्किएको बताए । उनले उक्त ठेक्का तत्काल स्वीकृत गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
उनले भने, “चमेलिया नदिको तटीय क्षेत्र अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका र महाकाली नदि तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न सरकारसँग माग गर्दछु । चमेलिया नदि किनारमा रहेको दार्चुला जिल्लाकै दास्रो ठूलो बजार गोकुलेश्वरमा अविलम्ब पक्की तटबनध निर्मार्ण गर्न माग गर्दछु । विगतमा डिपिआर भई बहुवर्षीय फाइला अर्थ मन्त्रालयमा अड्किएको छ । उक्त ठेक्का तत्काल स्वीकृत गर्न समेत अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गर्दछु ।”
उनले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत कर्मचारीको उद्धार प्रक्रियालाई थप प्रभावकारी बनाउन समेत सरकारको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया दिनुहोस्