काठमाडौँ । नेपाल एल.पी. ग्यास उद्योग सङ्घले मागअनुसार नै ग्यास आपूर्ति भइरहेको दाबी गरेको छ ।
काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग रहने गरेको र पछिल्ला तीन दिनमा पनि सोही परिमाणमा ग्यास रिफिल गरेर बजारमा उपलब्ध गराइएको सङ्घको दाबी छ । आगामी दिनमा समेत आपूर्तिलाई निरन्तरता दिइने जनाइएको छ ।
सङ्घका अध्यक्ष दिवान चन्दले सर्वसाधारणलाई ग्यासको अनावश्यक सञ्चय नगरी आवश्यकता अनुसार मात्रै खरिद गर्न आग्रह गरेका छन् । पर्याप्त आपूर्ति व्यवस्थापन भइरहेकाले बजारमा कृत्रिम अभाव सिर्जना नगर्न पनि सङ्घले अनुरोध गरेको छ ।
सङघका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा गरेको कटानका कारण ग्यास बोक्ने बुलेटहरू आवतजावत गर्न कठिन भएको थियो। यसबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायत जिल्लाहरू प्रभावित भएका छन् ।
सडक अवरोधपछि नेपाल आयल निगम लिमिटेड को निर्देशनअनुसार काठमाडौं, काभ्रे र धादिङका ग्यास उद्योगका खाली सिलिन्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलपरासीका उद्योगहरूमा पठाई रिफिल गरी पुनः उपत्यकामा आपूर्ति गरिएको सङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्