बिपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारसँग अर्थ मन्त्रालयको छलफल


काठमाडौँ । अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले विकास साझेदारका स्थानीय प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बुधबार सम्पन्न उच्चस्तरीय बैठकमा विभिन्न मुलुकका राजदूत, नियोग प्रमुख तथा अन्तर्राष्ट्रिय निकाय लगायतका विकास साझेदारहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बैठकमा रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्याङ्कनका विषयमा सरोकारवालाहरूबिच विस्तृत समीक्षा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थानको अवस्थाबारे जानकारी गराएका थिए । राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले द्रुत बिपद् आवश्यकता आकलनबारे प्रस्तुतिकरण गरेका थिए ।

छलफलका क्रममा विकास साझेदारहरूले बिपद्पछिको पुनर्निर्माणमा आवश्यक सहयोग र सहकार्यबारे धारणा राखेका थिए । अर्थमन्त्री डा. वाग्लेले राष्ट्रिय योजना आयोग, प्राधिकरण र विश्व बैंकले गरेको द्रुत क्षति तथा नोक्सानी मूल्याङ्कनको प्रशंसा गरे ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिने प्रत्यक्ष योगदान तत्काल राहत तथा प्रारम्भिक पुनस्र्थापना लागि कुनै प्रशासनिक लागतबिना सोझै पीडित तहसम्म पुग्ने उनको भनाई थियो । अर्थमन्त्री वाग्लेले पारदर्शीता, सुशासन र उत्थानशील दीर्घकालीन पुनर्निर्माणप्रति सरकार दृढ रहेको बताएका थिए ।