काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर वयकले ग्यास अभावका कारण नागरिकले भोग्नुपरेको समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सुत्केरी श्रीमतीलाई खाना पकाएर खुवाउन ग्यास नपाएपछि एक युवाले आत्महत्याको प्रयास गरेको घटनासमेत उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
काठमाडौँलगायत विभिन्न स्थानमा विद्यार्थी तथा सर्वसाधारणले खाना पकाउने ग्यास नपाएर सांसदहरूलाई फोनमार्फत सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
आपूर्ति व्यवस्थापनमा देखिएको कमजोरी र लापरवाहीप्रति प्रश्न उठाउँदै सरकारसँग तत्काल समस्या समाधान गर्न माग गरे । पानीमा भिज्दै सिलिन्डर बोकेर ग्यासको लाइनमा बस्नुपर्ने अवस्था कहिलेसम्म रहने उनको प्रश्न छ ।
उनले जेन्जी आन्दोलनका आधारमा बनेको सरकारमाथि पनि नागरिकमा निराशा बढ्दै गएको बताए । हिजो ‘बोल्न देऊ सरकार’ भन्दै आन्दोलन गर्नेहरूले नै सरकारमा पुगेपछि प्रश्न उठाउनेहरूप्रति खबरदारीको भाषा प्रयोग गर्न थालेको उनको आरोप छ ।
संविधानले सुनिश्चित गरेको वाक् स्वतन्त्रताको अधिकार कुनै व्यक्तिविशेषलाई हेरेर नभई सबै नागरिकका लागि समान रूपमा हुनुपर्ने उनको भनाइ छ ।
उनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका क्रममा कैलालीका विभिन्न स्थानका ३४ जना मैलुङ खोला हाइड्रोपावरको २१६ नम्बर ड्यामबाट बेपत्ता भएको उल्लेख गर्दै उनीहरूको तत्काल खोजी तथा उद्धार कार्य तीव्र बनाउन सरकारसँग माग गरे ।


प्रतिक्रिया दिनुहोस्