काठमाडौँ । आगामी असोज १ गतेदेखि ४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने ‘नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी-२०८३’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
ललितपुरमा आज पत्रकार सम्मेलन गरेर नेपाल जग्गा तथा आवास विकास महासङघ र नेपाल जग्गा तथा आवास विकास महासङ्घले प्रर्दशनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
प्रर्दशनी संयोजक रोशन भोयध्योले प्रर्दशनी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै १०० भन्दा बढी स्टलहरू रहेको र सबै बुकिङ भइसकेको जानकारी दिए ।
उनले भने,“ यसपटकको मेलामा स्वेदेशीका साथै छिमेकी राष्ट्र भारतका समेत गरी १०० भन्दा बढी प्रर्दशनी स्टलहरू रहनेछन्,जुन शतप्रतिशत बुकिङ भइसकेका छन् ।”
प्रर्दशनीमा संयुक्त आवास(अपार्टमेन्ट),जग्गा विकास आयोजना, आधुनिक निर्माण समाग्री, पेन्ट्स्,सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन,सौर्य ऊर्जा,रेनवाटर हार्भेटिङ् तथा फोहोर व्यवस्थापनका आधुनिक प्रविधिहरू प्रर्दशन गरिने आयोजकको भनाई छ । संयोजक भोयध्योले भने,“वातावरणमैत्री प्रविधिलाई प्रर्वधन गर्न यसपटक डिजिटल स्टयान्डी,इलेक्ट्रोनिक नियोस्क र भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरि पेपरलेस प्रर्दशनी बनाइने छ ।”
एक्स्पोको ६५ हजारभन्दा बढी अवलोकनकर्ताहरूले भ्रमण गर्ने आयोजकको भनाई छ ।
महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले भोटेकोशी बाढीले ठुलो क्षति पुराएको भन्दै यसपटकको प्रर्दशनी सुरक्षित बसोवासमा केन्द्रित र जनचेतनामूलक हुने बताए । उनले भने,“ बाढीले यसपटक निकै ठुलो क्षति पुराएको छ । प्रर्दशनीकाक्रममा हामीले नीति निर्माणमा संलग्न उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधी इन्जिनियरलगायतसँग सुरक्षित आवास विकासबारे छलफल गर्नेछौँ । यसपटकको प्रर्दशनी जनचेतनामूलक पनि हुने छ । यसको तयारी गरेका छौँ ।”
अध्यक्ष घिमिरेले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताए । उनले क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन निजी क्षेत्र तथा सरकारबीच सहकार्य आवश्यक रहेको भन्दै प्रदर्शनीलाई सफल बनाउन सबै पक्षलाई आग्रह गरे ।
नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष ई. दिपक कुँवरले भूकम्प, कोभिड–१९ महामारी तथा आर्थिक शिथिलताबिच पनि घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताए।
प्रदर्शनीले घरजग्गा कारोबारमा मात्र नभई निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका उद्योग, व्यवसाय र श्रमशक्तिलाई समेत समेट्ने उनले बताए । उनका अनुसार प्रदर्शनीमार्फत करिब रु. १ करोड ४० लाख आसपासको मूल्यमा घर उपलब्ध हुने विकल्पहरू समेत उपभोक्तासमक्ष प्रस्तुत गरिनेछन् ।
प्रर्दशनीमा विशेषज्ञ परामर्श र स्वास्थ्य सेवा, सेमिनार तथा छलफल र युवा उद्यमी प्रवर्धनका विषयमा छलफल हुने आयोजकको भनाई छ । आयोजकले भनेको छ,“ हाल बैंकिङ क्षेत्रमा तरता सहज रहेको र ब्याजदर घट्दोक्रममा रहेको अवस्थामा उपभोक्तालाई उपयुक्त वित्तीय निर्णय लिन, सुलभ मूल्यमा घरघडेरी चयन गर्न र सुरक्षित लगानी सुनिश्चित गर्न यो एक्स्पो उत्कृष्ट ‘साझा मञ्च’ बन्ने छ ।”


प्रतिक्रिया दिनुहोस्