काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको आर्थिक विकासमा नीतिगत अस्थिरता र कानुनी जटिलता प्रमुख बाधकका रूपमा रहेको बताएका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले उद्योग सञ्चालनसँग सम्बन्धित विभिन्न कानुन, नियम र प्रक्रियाबीचको असंगतिले व्यवसायको लागत र अनिश्चितता बढाएको बताए
उनले कतिपय आर्थिक कानुन पुराना र अप्रासंगिक रहेको तथा केही कानुन आपसमा बाझिँदा उद्योगी–व्यवसायीलाई समस्या भइरहेको उल्लेख गरे । पुराना तथा अप्रासंगिक आर्थिक कानुन खारेज वा संशोधन गर्न उहाँले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आग्रह गरे ।
अध्यक्ष पाण्डेका अनुसार अहिले नेपालको अर्थतन्त्रका प्रमुख चुनौती पुँजीगत खर्च बढाउनु, आयोजना कार्यान्वयनलाई तीव्रता दिनु, निजी लगानीको वातावरण सुधार गर्नु र बजारमा माग सिर्जना गर्नु हुन् ।
सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरेका कार्यक्रमको कार्यान्वयन अवस्थामाथि निरन्तर निगरानी आवश्यक रहेको उनकाे भनाइ छ ।
‘सरकारले के घोषणा गर्यो मात्र होइन, के कार्यान्वयन भयो, कति खर्च भयो, कुन आयोजना अघि बढ्यो, कुन नीति अड्कियो, किन अड्कियो र त्यसको अर्थतन्त्रमा कस्तो प्रभाव पर्यो भन्ने प्रश्नको निरन्तर खोजी र सार्वजनिक बहस आवश्यक छ,’ उनले भने ।
आर्थिक पत्रकारितालाई समाचार सम्प्रेषणको माध्यममा मात्र सीमित नराखी नीति सुधार र आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदारका रूपमा लिनुपर्नेमा पनि अध्यक्ष पाण्डेले जोड दिए ।
उद्योगी–व्यवसायीले भोगेका समस्या, सरकारी नीति, नीति कार्यान्वयनमा देखिएका कमजोरी, बजारका प्रवृत्ति तथा अर्थतन्त्रका सम्भावनालाई तथ्यका आधारमा सार्वजनिक बहसमा ल्याउन आर्थिक पत्रकारिताले महत्वपूर्ण भूमिका खेलिरहेको उनले बताए।
सीएनआईले औद्योगिक तथा निजी क्षेत्रको आवाज नीति निर्माणको तहसम्म पुर्याउन निरन्तर काम गरिरहेको उल्लेख गर्दै अध्यक्ष पाण्डेले नीति अनुसन्धान, तथ्यमा आधारित सुझाव, सार्वजनिक–निजी संवाद र सुधारका लागि पैरवीलाई संस्थाको कार्यशैली बनाएको बताउनुभयो ।
उहाँका अनुसार औद्योगिक विकास, लगानी प्रवर्द्धन, निर्यात विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, डिजिटल रूपान्तरण, ऊर्जा, पर्यटन र उद्यमशीलताका क्षेत्रमा सीएनआईले विभिन्न पहल गर्दै आएको छ ।
सरकारले पुराना कानुन खारेज तथा सुधारतर्फ अघि बढाएको कदम भने सकारात्मक रहेको अध्यक्ष पाण्डेको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्