मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छः अर्थमन्त्री वाग्ले


काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका छन् । 

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा उनले नेपाललाई ग्रे लिष्टबाट चाँडोभन्दा चाँडो बाहिर निकाल्नको लागि अन्तर्राष्ट्रिय समूदायमा समेत पहल भइरहेको बताए ।

उनले सरकारले आफ्नो पक्षलाई बलियो ढङ्गले प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली नै परिचालन गरिएको जानकारी दिए ।

उक्त टोली हाल मलेसियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ  । उनले एफएटीएफकै विषयमा अमेरिकी अर्थमन्त्रीसँग आफूले भेट गर्ने प्रयास गरिरहेको समेत बताए ।

नेपाल ग्रे लिस्टबाट समयमै बाहिरिन नसके त्यसको प्रत्यक्ष असर नेपालको अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहमा समेत पर्ने भएको कारण सरकार गम्भीर भएर काम गरिरहेको उनको भनाइ छ ।

उनले ग्रे लिष्टबाट बाहिर निस्कन सरकारले चालिरहेको कदमबारे अफवाह फैल्याउने कार्य भइरहेको पनि बताए । प्राकृतिक विपद्बाट भएको क्षति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको उनले उल्लेख गरे ।

पुनर्निर्माणलाई पुरानै संरचना पुनःनिर्माण गर्ने अवसरका रूपमा मात्र नभई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।

उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकार नीजि क्षेत्रलाई सँगै लिएर काम गर्न खोजिरहेको बताए । लगानीमैत्री वातावरण निर्माण गर्न आफूले अर्थमन्त्री भएकै दिनदेखी नीतिगत सुधारको काममा लागिपरेको पनि उनकाे भनाइ छ।