बन्द तथा समस्याग्रस्त उद्योगको आर्थिक दायित्वको व्यवस्थापन गर्दैछौँ, सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई नै दिन्छौँः अर्थमन्त्री वाग्ले


काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताएका छन् । 

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा उनले सरकार आफैंले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको स्पष्ट पारे ।

उनले सरकारी स्वामित्वका उद्योगको सम्पत्ती र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पुरा गरेर नीति क्षेत्रलाई हस्तान्तरण गरिने बताएका हुन्। गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टलगायत सातवटा उद्योगको विस्तृत मूल्यांकन (डीडीए) गरिएको छ ।

ती निकायको मूल्यांकनका आधारमा सरकारी जग्गा तथा सम्पत्तिको व्यवस्थापन गरी निजी क्षेत्रलाई सञ्चालनका दिन सकिने उनको भनाइ छ ।

उनले विगतमा उत्पन्न भएका विवादित विषयलाई नछोई निजी क्षेत्रले सञ्चालनको जिम्मेवारी लिन सक्ने व्यवस्था मिलाइने बताए। तर उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ ।

अर्थमन्त्री वाग्लेले सरकारले निजी क्षेत्रको वैध नाफामाथि शंका गर्नेभन्दा निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउनेमा केन्द्रित रहेको बताए ।