काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारको आलोचना गरेकी छिन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेकी हुन् । उनले पसलमा ग्यास हुँदाहुँदै पनि व्यापारीले बेच्न नमानेको गुनासोहरु आउने गरेको समेत बताइन्।
यसले त नेपालमा सरकारभन्दा माफिया ठूला रहेछन् भन्ने पुष्टि भएन र ? भन्दै प्रश्न गरिन् । उनले बजारमा ग्यास नभए सरकारले स्पष्ट रुपमा नागरिकलाई जानकारी गराउनुपर्ने पनि बताइन् । उनले ग्यास अभावको समाधानका लागि पटकपटक मन्त्री परिवर्तन गर्नु उचित नहुने तर्क पनि गरिन् ।
उनले भनिन्, “यदि ग्यास छैन भने छैन, हामीसँग ग्यास छैन भनेर सरकारले भनिदेओस् । यदि ग्यास दिन सक्दैन भने सरकारले दाउरा खोजी भात पकाएर खाओ भनेर जनतालाई भनिदेओस् । महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा पनि मन्त्रीहरूको लाइन लामो हुन्छ ।”
उनले ग्यासको आपूर्ति सहज बनाउनतर्फ सरकार गम्भीर हुनुपर्ने धारणा राखिन् ।


प्रतिक्रिया दिनुहोस्