काठमाडाैँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँ महानगरपालिका करिव ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताएका छन् ।
आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा आचार्यले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने बताएका हुन् ।
फल्चा बाहिरबाट हेर्दा बस्ने वा ओत लाग्ने सामान्य ठाउँजस्तो देखिए पनि त्यसको संरचनाभित्र काठमाडौंका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको उनको भनाइ छ ।
आचार्यले काठमाडौँलाई देवताहरूको शहरका रूपमा चित्रण गर्दै यहाँका बासिन्दाले पनि देवताकै रूपमा आफ्नो सम्पदा र महानगरको संरक्षण गर्नुपर्ने बताए ।
केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाई र सौन्दर्यबारे तयार पारेको कार्यक्रम आफूले हेरेको पनि उनले उल्लेख गरे । भारतीय सञ्चारमाध्यम तथा युट्युबरहरूले नेपाल र काठमाडौँको प्रशंसा गरेको देख्दा आफूलाई गर्व लागेको उनको भनाइ छ ।
‘काठमाडौं अहिले कति सफा र सुन्दर देखिएको छ, यसबाट हामीले सिक्नुपर्छ’ भन्ने आशयका सामग्री भारतीय युट्युबमा हेर्न पाएको उल्लेख गर्दै आचार्यले त्यसले नेपालीको गौरव बढाएको बताए ।
उनले काठमाडौँ महानगरपालिकामा पछिल्लो समय भएका सकारात्मक परिवर्तनलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाई र सुन्दरतामा थप ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले भने, “करिव ५० वर्षअघिदेखि नै महानगर बिग्रिन शुरु भएको हो । तर अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ । पछिल्लो समय भने महानगर सफा, सुन्दर र व्यवस्थित बनाउने केही राम्रा कामहरू भएका छन् । ठाउँ–ठाउँमा फल्चा निर्माण भएका छन् । हेर्दा फल्चा बस्ने र ओत लाग्ने ठाउँजस्तो देखिए पनि त्यसको भित्र हाम्रो सम्पदा र संस्कृति लुकेको हुन्छ । देवतैदेवताले भरिएको काठमाडौं महानगरपालिकालाई हामी यहाँका नागरिकले पनि देवताकै रूपमा मानेर संरक्षण गर्नुपर्छ । केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंबारे बनाएको एउटा कार्यक्रम हेरेँ । उनीहरूले काठमाडौँ अहिले कति सफा र सुन्दर भएको छ र यसबाट हामीले पनि सिक्नुपर्छ भनेर प्रशंसा गरेका रहेछन् । त्यो देख्दा नेपाली भएको नाताले हाम्रो गर्वले छाती फुलेको छ ।”
आचार्यले महानगरको विकास र संरक्षणमा महानगरवासीको समेत महत्वपूर्ण भुमिका रहने भन्दै सबैले आफ्नो सहरप्रति जिम्मेवार बन्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्