काठमाडाैँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्युनिकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन् ।
चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तिन सक्ने भन्दै उनले वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिएका हुन् ।
काठमाडौँ महानगर प्रहरी बलको आइतबार आयोजित ३४ औँ वार्षिकोत्सवमा धारणा राख्दै श्रेष्ठले काठमाडौँमा विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले त्यसको क्षमता बढाउनुपर्ने बताए ।
उनले चोभारको निकासको चौडाई र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने बताए । काठमाडौँको बाढी जोखिम कम गर्न अहिले निर्माण भइरहेका लामो सुरुङलाई वैकल्पिक पानी निकासका रूपमा प्रयोग गर्न सकिने उनको सुझाव छ ।
एउटा छुट्टै सुरुङ निर्माण गरेर पानीलाई अर्को दिशातर्फ निकास दिन सकिने सम्भावनातर्फ पनि महानगरपालिकाले ध्यान दिनुपर्ने उनले बताए । श्रेष्ठले पछिल्ला बाढीपहिरोका घटनालाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले यसको असर गम्भीर रूपमा भोगिरहेको उल्लेख गरे ।
विकास आवश्यक भएपनि वातावरणीय प्रभावलाई बेवास्ता गरेर हुने अव्यवस्थित विकासले समस्या थपिएको उनको भनाइ छ । रसुवा भोटेकोशी, सोलुखुम्बुको थामेमा आएको बाढीको प्रसङ्ग उल्लेख गर्दै उनले त्यहाँ बस्ती र होटलसहितको क्षेत्र नै बगाएको घटनाले भविष्यमा हिमताल फुट्ने जोखिमप्रति शतर्क हुनुपर्ने देखाएको बताए ।
हिमालमा रहेका हिमतालहरू फुट्ने सम्भावना रहेकाले नेपालका हिमाली तथा पहाडी क्षेत्रमा रहेका शहर र बस्तीको सुरक्षाबारे गम्भीर रूपमा सोच्नुपर्ने उनको भनाइ छ ।
उनले विश्वव्यापी औद्योगिकीकरण र त्यसबाट बढेको ग्लोवल वार्मिङको असर नेपालजस्ता मुलुकले भोग्नुपरेको बताए । भारत, चीन र अमेरिकालगायतका मुलुकमा बढेको औद्योगिक गतिविधिले विश्वव्यापी तापक्रम वृद्धिमा योगदान पु¥याएको र त्यसको असर नेपालीले समेत भोग्नुपरेको उनको भनाइ छ ।
श्रेष्ठले कानूनी राज्यको आवश्यकतामा पनि जोड दिए । कानूनको पालना गराउने क्रममा महानगर प्रहरीले सही काम गरेको भन्दै उनले त्यसका लागि पश्चात्ताप गर्नुपर्ने अवस्था नरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्