काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्युनिकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ ।
वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी हुन् ।
आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै डंगोलले काठमाडौँमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् ।
उनकाअनुसार सहरी बाढीको समस्या समाधानका लागि अध्ययनसमेत भइरहेको छ । डंगोलले विगतमा शहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने बताइन्। करिब तीन दशकअघि शुरु भएका शहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उनको भनाइ छ ।
काठमाडौँमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।
अहिले गर्न सकिने कामबाटै समाधानको शुरुवात गर्नुपर्ने भन्दै उनले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउन लागिएको जानकारी दिइन् । डंगोलले शहरी बाढीको समस्या समाधानका लागि दीर्घकालीन उपायबारे अध्ययन भइरहेको र अध्ययनका आधारमा थप कार्यक्रम अघि बढाइने बताइन् ।
पछिल्लो समय वर्षाको पानी परेपछि काठमाडौँमा बाढीको जोखिम बढ्दै गएको भन्दै उनले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।


प्रतिक्रिया दिनुहोस्