काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने तयारी अघि बढाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा प्राधिकरण विभाजनसम्बन्धी विधेयक तयारीको अन्तिम चरणमा पुगेको जानकारी दिए।
‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने प्रस्तावसहितको विधेयक तयार भइसकेको बताए।
उनकाअनुसार प्रस्तावित विधेयक कानुनी रायका लागि समेत पेश भइसकेको छ। नयाँ व्यवस्थाअनुसार हालको नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियामक र सेवा प्रदायकको भूमिका अलग गरी दुईवटा छुट्टाछुट्टै निकाय बनाउने सरकारको तयारी छ।
मन्त्री पौडेलले समितिमा छलफल भइरहेको आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमा उठाइएका धेरैजसो सैद्धान्तिक विषय नयाँ संरचनाअन्तर्गत बन्ने हवाई सेवा प्राधिकरणसँग समेत सम्बन्धित हुने बताए।
सबै विषय एउटै कानुन वा एउटै निकायमा समेट्न आवश्यक नरहेको उल्लेख गर्दै उनले आन्तरिक वायुसेवा प्रदायकले हाल गर्दै आएका तथा कतिपय अवस्थामा स्वतःस्फूर्त रूपमा भइरहेका गतिविधिलाई व्यवस्थित र नियमन गर्न आवश्यक कानुनी आधार तयार गर्ने उद्देश्यले विधेयक ल्याइएको स्पष्ट पारे।
मन्त्री पौडेलले भने “नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई भागमा विभाजन गरी नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्टाछुट्टै संरचना बनाउने गरी विधेयक तयारी भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण गरी दुई निकाय बनाउने प्रस्तावित विधेयक कानुनी रायका लागि समेत पेश भइसकेको छ।”
उनले समितिमा उठेका धेरैजसो सैद्धान्तिक विषय हवाई सेवा प्राधिकरणअन्तर्गत समेत समेटिने बताउँदै सबै विषय एउटै कानुन वा एउटै निकायमा समेटिनु आवश्यक नरहेको धारणा राखे।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा छुट्याउने विषय लामो समयदेखि बहसमा रहँदै आएको छ। अन्तर्राष्ट्रिय अभ्यासअनुसार नियमन र सेवा प्रवाहको भूमिका अलग गर्ने उद्देश्यले सरकारले प्राधिकरण पुनर्संरचनाको तयारी अघि बढाएको हो।
मंगलबारको बैठकमा राष्ट्रिय सभा सदस्यहरूले आन्तरिक हवाई सेवासँग सम्बन्धित विभिन्न विषयमा प्रश्न तथा सुझाव राखेका थिए। सांसदहरूको प्रश्न र सुझावपछि मन्त्री पौडेलले आन्तरिक वायुसेवासम्बन्धी विधेयकको आवश्यकता तथा नागरिक उड्डयन प्राधिकरण पुनर्संरचनाका लागि भइरहेको सरकारको तयारीबारे समितिलाई जानकारी गराए।


प्रतिक्रिया दिनुहोस्