काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिन आग्रह गरेका छन् ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशनको दिन पूर्वसभापति आएर उद्घाटन गरिदिनु पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन् ।
उनले पार्टी विधानअनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले पूर्वसभापतिको औपचारिक बिदाइको चरणमा पार्टी पुग्ने उल्लेख गरे ।
यसअघि पूर्वसभापति तथा अन्य नेताहरूले उठाएका विषयहरू सम्बोधन भइसकेपछि अब थप अलमल नगरी महाधिवेशनको प्रक्रियामा अघि बढ्नुपर्ने उनको भनाइ छ ।
थापाले पार्टीका पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूलाई पनि नयाँ पुस्तालाई साथ लिएर अघि बढ्न आग्रह गरे । लामो समय पदाधिकारीका रूपमा काम गरेका नेताहरूलाई पार्टीले पूर्वपदाधिकारीका रूपमा छुट्टै सम्मान दिनुको कारण पद नभई उनीहरूप्रतिको भरोसा र सम्मान भएको उनले बताए ।
थापाले काँग्रेसका वरिष्ठ नेताहरूले पनि अहिलेको परिस्थितिमा सोचेर महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्